मुख्य सामग्रीमा जानुहोस्
Thursday, 10 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

रवि लामिछानेको प्रतिबद्धता: दुई कार्यकालपछि राजनीतिबाट सम्मानजनक विदाई लिन्छु

Himali Patrika 1 मिनेट पढाइ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू राजनीतिलाई जीवनको अन्तिम घडीसम्म लैजाने उद्देश्यमा नभएको स्पष्ट पार्दै दुई कार्यकाल इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्ता र पदभन्दा पनि जिम्मेवारी र योगदानलाई प्राथमिकतामा राखेर राजनीति गर्ने आफ्नो धारणा दोहोर्‍याए।

लामिछानेले राजनीतिलाई आर्यघाटसम्म पुर्‍याउने सोच आफूमा कहिल्यै नरहेको उल्लेख गर्दै भने, “इमान्दारीपूर्वक आफ्नो दुई कार्यकाल पूरा गर्छु। ती दुई कार्यकालमा मैले आफ्नो क्षमता र सामर्थ्यले भ्याएसम्म देशका लागि योगदान दिने हो।” उनले लामो समय सत्तामा टिकिरहनेभन्दा पनि निश्चित समयभित्र परिणाम देखिने काम गर्नु नै आफ्नो लक्ष्य रहेको बताए।

फरक सन्दर्भमा उनले आफू सर्वज्ञानी नभएको स्वीकार गर्दै, नजानेका विषयमा सिक्न र विज्ञहरूको सुझाव लिन तयार रहने धारणा व्यक्त गरे। “म सबै कुरा जान्ने मान्छे होइन,” उनले भने, “आफूसँग नभएको ज्ञान स्वीकार गरेर त्यसलाई आत्मसात् गर्न सक्नुपर्छ।” उनका अनुसार यही सोचले मात्रै राजनीति जिम्मेवार, पारदर्शी र परिणाममुखी बन्न सक्छ।

लामिछानेको यो अभिव्यक्तिलाई रास्वपाले अघि सारेको सीमित कार्यकाल, इमान्दार नेतृत्व र सेवा–केन्द्रित राजनीतिक दर्शनसँग जोडेर हेरिएको छ। आगामी निर्वाचनको सन्दर्भमा उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको भन्दै त्यसलाई काममार्फत जोगाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।