मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

दाङ–२ मा समीर ओलीद्वारा उम्मेदवारी फिर्ता, रास्वपाका विपिनलाई समर्थन

Himali Patrika 1 मिनेट पढाइ

दाङ — दाङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका समीर ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विपिनकुमार आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन्। उनले २०८२ फागुन ८ गते जारी प्रेस विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्।

ओलीले ठूला भनिएका राजनीतिक दल र नेताहरूले चुनावअघि गरेका प्रतिबद्धता र चुनावपछिको कार्यशैलीबीच ठूलो अन्तर देखिएको भन्दै आफू सुशासन, पारदर्शिता, जवाफदेहिता र वास्तविक परिवर्तनको उद्देश्यसहित स्वतन्त्र उम्मेदवारका रूपमा अघि बढेको उल्लेख गरेका छन्। आफ्नो अभियानले जनतामाझ सकारात्मक सन्देश र आशा जगाएको महसुस गरेको पनि उनले बताएका छन्।

तर एउटै क्षेत्रमा धेरै स्वतन्त्र तथा वैकल्पिक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहँदा परिवर्तन चाहने मत विभाजित हुने र पुरानै सोच बोकेका शक्तिहरू पुनः सत्तामा फर्किने जोखिम देखिएको उनले उल्लेख गरेका छन्। यही यथार्थलाई गम्भीर रूपमा मूल्यांकन गर्दै परिवर्तनका लागि एकीकृत शक्ति निर्माण आवश्यक ठानेर रास्वपाका उम्मेदवार आचार्यलाई समर्थन गर्ने निर्णय लिएको उनले बताएका छन्।

ओलीले आफ्नो निर्णयले परिवर्तन पक्षधर शक्तिहरूबीच एकता मजबुत हुने, मत विभाजन रोकिने र वैकल्पिक राजनीति सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन्। साथै उनले आफ्ना सम्पूर्ण समर्थक, शुभेच्छुक तथा परिवर्तन चाहने मतदातालाई आगामी निर्वाचनमा वैकल्पिक शक्तिलाई सशक्त बनाउन एकजुट भई सहयोग गर्न आग्रह गरेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।