मन्त्री श्रेष्ठको प्रस्ताव- ‘महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनियोस्’

मन्त्री श्रेष्ठको प्रस्ताव- ‘महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनियोस्’

ललितपुर ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनिनुपर्ने तर्क गरेकी छन् । साझा प्रकाशनको २५औं वार्षिक साधारणसभामा ‘व्यत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ सार्वजनिक गर्दै उक्त विचार व्यक्त गरेकी हुन् ।

कोशका प्रा. नीलमणि ढुङ्गानाद्वारा तयार पारिएको हो । ‘नेपालका हरेक पक्ष पुरुषको दृष्टिकोणबाट मात्र हेरिएको छ,’ शताब्दी पुरुष सत्यमोहन जोशीसमेत उपस्थित समारोहमा मन्त्री श्रेष्ठले भनिन्, ‘शब्दकोशमा समेत महिला मन्त्री हुने त कल्पनै गरिएको पाइएन । पुरुष मन्त्रीकी पत्नीलाई मन्त्रिणी भनिएको छ । महिला मन्त्रीको पतिलाई के भन्ने ? सोचिनु पर्दैन ? त्यसैले अबदेखि मन्त्रो भनेर शब्दकोशमा राखियोस् ।’

नेपाली वाङ्मय साधकहरूले पुरुषप्रधान परिकल्पनामात्र गर्न नहुनेसमेत उनले बताइन् । उक्त शब्दकोशबारे चर्चा गर्दै पूर्वसचिव कृष्ण ज्ञवालीले कोशमा सिंगो नेपाली समाज, वैदिक परम्परा, वर्तमान परिवेशलाई समेटको बताए । इतिहासविद् प्रा. दिनेशराज पन्तले संस्कृत वाङ्मय र नेपाली वाङ्मयको भेदलाई शब्दकोशले प्रष्ट पारेको बताए।

Europass CV in Nepal

त्यस अवसरमा यसअघि घोषणा गरिएका तथा लामो समयदेखि स्थगित रहेका सम्मान तथा पुरस्कार दस जना स्रष्टालाई प्रदान गरिएको थियो । ५१ हजार रुपैयाँ राशिको ‘साझा पुरस्कार’ बाट ठाकुर बेलबासे र जय छाङ्छाले पाएका छन् ।

त्यसैगरी ‘साझा बालसाहित्य पुरस्कार’ शारदारमण नेपाल र गोपाल पराजुलीलाई दिइएको छ । यस्तै ‘साझा लोकसंस्कृति पुरस्कार’बाट डा. भोला झा, कुसुमाकर न्यौपाने, प्रा.डा. कुलप्रसाद कोइरालाल सम्मानित भएका छन् ।

दुवै पुरस्कारको राशि जनही १५–१५ हजार रुपैयाँ रहेको छ । यसैगरी १० हजार रुपैयाँ राशिको ‘गरिमा सम्मान’ बद्री भिखारी, अभय श्रेष्ठ, उषा शेरचन र प्रा. राजेन्द्र सुवेदी (मरणोपरान्त)लाई प्रदान गरिएको छ । सम्मानितमध्ये कवि अभय श्रेष्ठले ‘साझा प्रकाशन धरासाही भएकाले पुनःजीवन पाउनु पर्छ’ भन्दै पुरस्कार राशि साझाका अध्यक्ष डा. विजय सुब्बालाई फिर्ता गरे ।

Europass CV in Nepal