अर्बभन्दा बढी ऋण लिएर अग्रवाल परिवार फरार

अर्बभन्दा बढी ऋण लिएर अग्रवाल परिवार फरार

काठमाडौं  । नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ । काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएका छन् ।

अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन् । अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोडभन्दा बढी ऋणसमेत जोखिममा परेको छ । एभरेष्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआईसी एसिया बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटा बैङ्कबाट मात्र ८० करोड रुपियाँभन्दा बढी ऋण लिएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले अग्रवाल परिवार सम्पर्कविहीन बनेको सूचनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बताए । सो सम्बन्धमा अझै औपचारिक उजुरी नपरेको र उजुरीपछि विस्तृत अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

Europass CV in Nepal

महानगरीय प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले अग्रवालकी छोरीको उपस्थितिमा पुस २२ गते अग्रवाल परिवार बस्दै आएको काठमाडौँको ज्ञानेश्वर पुगेर घरमा खोजतलास गरेको थियो ।

प्रहरीले अग्रवाल परिवारको घरबाट एउटा पत्र फेलापारेको छ । ओमप्रकाश अग्रवाल, उषा अग्रवाल (श्रीमती) र छोराहरू अभिषेक र अमित अग्रवालले हस्ताक्षर गरेको पत्रमा बैंक, वित्तीय संस्था र व्यक्तिगत ऋण तिर्न नसक्ने अवस्था बनेपछि आफूहरू सम्पर्कविहीन बन्नुपरेको उल्लेख गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Europass CV in Nepal