टेलिकमको तार चोरेको आरोपमा भायोनेटका ५ जना कर्मचारी पक्राउ

टेलिकमको तार चोरेको आरोपमा भायोनेटका ५ जना कर्मचारी पक्राउ

ईन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटमा कार्यरत ५ जना कर्मचारीहरूमाथि टेलीकमको तार चोरेको आरोप लागेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित लोलाङ हाइटमा रहेको पोलबाट तार चोरेको अभियोगमा महानगरीय प्रहरी वृत बालाजुले भायोनेटका ५ कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ घर भएका प्रेम बहादुर बोहरा, कैलाली घर भएका नमेश बुढा, गोविन्द साउद, गोरखा घर भएका राजन घले र काभ्रेको बनेपा घर भएका प्रबिन कार्की छन् ।

भायोनेट मर्मतका लागी प्रदेश–३–०१–०२३ च ४३०१ नम्बरको हात्ती गाडीमा हिँड्ने उनीहरुले तार चोरी गर्ने गरेको अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेश राज मैनालीले रातोपाटीलाई बताए ।

Europass CV in Nepal

हात्ती गाडीको अगाडि ‘दुरसञ्चार इन्टरनेट सेवा’ लेखिएको बोर्ड राखेर हिँड्न हुनाले उनीहरुलाई सहजै कसैले शंका गर्थेनन् । आरोपीहरुले सो सुविधाको फाइदा उठाएर तार चोरी गर्दै आएका थिए ।

शनिबार तार चोरेर सो तार छिल्नलाई जंगलतिर जाँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थलीबाट उनिहरुलाई पक्रेर अनुसन्धान भइरहेको बालाजुका डिएसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।

‘फुटपाथमा बस्नेहरु र कवाडी सञ्चालकहरुलाई हामिले शंकाको घेरामा राख्ने गरेका थियौं, इन्टरनेट मर्मत गर्न हिँड्ने हुनाले उनीहरु प्रहरीको नजरमा पर्दैनथे’ महानगरीय प्रहरी वृत बालाजुका डिएसपी मिश्र भन्छन्–‘तर, शंकास्पद गतिविधि देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा तार चोरीमा उनीहरु संलग्न रहेको खुलेको छ ।’ प्रहरीले आरोपीहरुको साथबाट एउटा तारमा ५० ओटा र १ सय वटा लाइन जडान गर्न मिल्ने मोटो आकारको तारा बरामद गरेको छ ।

Europass CV in Nepal