एमसीसी संसदमा ल्याउनुपर्छ, सांसदहरूले स्वविवेकले निर्णय गर्न पाउनुपर्छ : ज्ञवाली

एमसीसी संसदमा ल्याउनुपर्छ, सांसदहरूले स्वविवेकले निर्णय गर्न पाउनुपर्छ : ज्ञवाली

काठमाण्डाै ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताउनुभएको छ ।

आज बुधवार राष्ट्रिय युवा सङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको ‘स्थानीय तह चुनाव, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरूले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताउनुभएको हो । सत्तामा रहेका नेताहरूले एमसीसीमार्फत भूराजनीतिक द्वन्द्व निम्त्याइरहेको उहाँले आरोप लगाउनुभयो ।

एमसीसी एउटा विकास परियोजना मात्रै भएको उहाँले उल्लेख गर्नुभयो । उपमहासचिव ज्ञवालीले एमसीसीलाई संसदमा ल्याएर सांसदहरूलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पार्नुभयो ।

Europass CV in Nepal

उहाँले भन्नुभयो, ‘सत्तामा रहेका नेताहरू जानी जानी भूराजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ । एमसीसी परियोजना एउटा विकास परियोजना हो । त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसद्को, नेपालको राजनीतिक दलहरूको स्वेच्छिक रोजाइको विषय हो । तर त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ, भर्चुअल मिटिङहरू भइरहेका छन्, विदेशीको सुझाव लिनेखालका कुराहरू भइराखेका छन् ।

एउटा विकास परियोजनालाई जानी जानी भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरू लागिरहनुभएको छ । सरकार प्रष्ट होस् । हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ र सार्वभौमसत्ता सम्पन्न सांसदहरूले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ । संसदमा आउन नदिने, बन्द कोठामा, बन्द इजलासमा तथाकथित गठबन्धका कार्यदलहरूको त्यो अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न पाइँदैन ।’

उपमहासचिव ज्ञवालीले स्थानीय तहको चुनाव समयमै हुनुपर्ने बताउनुभयो । स्थानीय तहको चुनावमा एमाले एक्लै उठ्ने पनि उहाँले स्पष्ट पार्नुभयो । एमालेले गरेको कामको आधारमा चुनावमा जानका लागि कसैको वैशाखी टेक्नुपर्ने अवस्था नरहेको उहाँले जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहको चुनाव समयमा हुनुपर्छ । कुनै बहानाबाजी स्वीकार्य छैन र नेकपा (एमाले) यसमा एक्लै लड्छ । हामीलाई चुनाव सामना गर्नका लागि अरू कसैको साहारा लिनुपर्ने, अरू कसैको वैशाखी टेक्नुपर्ने जरुरी छैन । हाम्रा लागि हामीले गरेका कामहरू र हामीलाई काम गर्दै जाँदा जहाँ जहाँ बाटो छेक्ने प्रयत्न भयो, ती तथ्यहरू नै जनताका मन जित्नका लागि पर्याप्त छन् । नेकपा एमाले चुनाव एक्लै लड्छ ।’

Europass CV in Nepal