प्यूठानमा बेहुला-बेहुलीसहित जन्तीको जिप दुर्घटन, मृत्यु हुनेको संख्या आठ पुग्यो

प्यूठानमा बेहुला-बेहुलीसहित जन्तीको जिप दुर्घटन, मृत्यु हुनेको संख्या आठ पुग्यो

प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको हो।

‘अहिलेसम्म अस्पतालमा दुई जनालाई मात्रै ल्याउन सकिएको थियो र अस्पताल ल्याइएका दुबै जनालाई मृत घोषणा गरियो,’ गैरेले सेतोपाटीसँग भने, ‘ ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। घाइते पाँच जनालाई अस्पताल ल्याइँदै छ।’

दुर्घटनास्थल निकै विकटस्थल भएको हुँदा घाइतेको उद्धार गरि अस्पताल ल्याउन ढिलाई भएको प्रहरीले जनाएको छ। मृतक कसैको पनि पहिचान खुलेको छैन। सोही गाडीमा बेहुला बेहुली पनि सवार थिए। बेहुला बेहुलीको अवस्था अझैं खुलेको छैन।

नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार सडकमा पहिरो गएका कारण जिप दुर्घटनामा परेको हो। जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ। सेतोपाटीबाट