मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आजदेखि मौसममा सुधार, भोलिदेखि दिन घमाइलो हुने

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । आज दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । अस्ति र हिजो वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । अस्ति पश्चिम भेगमा र हिजो देशैभरि वर्षा र हिमपात भएको थियो ।

अहिले देशका केही ठाउँमा सामान्य बद्ली रहेको र दिउँसोदेखि मौसम सफा हुने मानन्धरले बताउनुभयो । आज पहाडी भेगका केही ठाउँमा बद्ली भएर सामान्य वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।

हिजो परेको पानीको प्रभावले भोलि बिहान हुस्सु लागे पनि त्यसपछि मौसम खुल्ने उहाँको भनाइ छ । भोलिदेखि मौसम खुलेर घाम लाग्ने र न्यानो सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अस्ति र हिजो भएको हिउँदे वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ ।

चिसो बढ्दा घरबाहिर निस्कन समेत समस्या भएको छ । यस्तै हिमपातका कारण सडक, हवाई यातायात प्रभावित भएकाे छ । अहिले उच्च पहाडी तथा हिमाली भेगका बस्तीहरुमा बाक्लो हिउँ जमेको छ । जनजीवन प्रभावित भए पनि हिउँदे वर्षा र हिउँका कारण किसान भने खुशी भएका छन् ।

माघमा परेको हिउँ र वर्षाले हिउँदे बाली सप्रने किसान बताउँछन् । विशेषगरी लेकाली क्षेत्रका बालीनालीका लागि हिउँदे झरी र माघमा परेको हिउँ महत्त्वपूर्ण मानिन्छ । यस वर्ष गएको वर्षको हिउँदको तुलनामा चार गुणा धेरै वर्षा भएको छ ।

गएको वर्षको हिउँद अर्थात डिसेम्बरदेखि फेब्रुअरीसम्म १५ दशमलव चार मिलिमिटर वर्षा भएकोमा यो वर्ष हिजो बिहान आठ बजेसम्म नै ५७ दशमलव ७ मिलिमिटर वर्षा भइसकेको थियाे । हिजो देशैभरि वर्षा भयो भने थुप्रै ठाउँमा भारी वर्षा समेत भएको छ । सामान्यतया हिउँदमा ६० दशमलव नौ मिलिमिटर वर्षा हुन्छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।