आजबाट दुई–तीन दिन मौसम सुधार, त्यसपछि फेरि अर्काे मौसमी प्रणाली विकसित हुने सम्भावना : मौसमविद्

आजबाट दुई–तीन दिन मौसम सुधार, त्यसपछि फेरि अर्काे मौसमी प्रणाली विकसित हुने सम्भावना : मौसमविद्

विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ। आजबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले जानकारी दिइन्। ‘आइतबारदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि पुन:अर्काे मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ’, उनले भनिन्।

राति प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।तराईका भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल प्रदेश नं १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ। आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले औंल्याएको छ।

Europass CV in Nepal

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री र अधिकतम तापक्रम नौ दशमलव तीन डिग्री सेल्सियस छ।

आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव एक डिग्री र सबभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। रासस

 

Europass CV in Nepal