भारतकी गायिका लता मंगेशकरको निधनमा राष्ट्रपतिद्वारा दु:ख व्यक्त

भारतकी गायिका लता मंगेशकरको निधनमा राष्ट्रपतिद्वारा दु:ख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतकी गायिका लता मंगेशकरको निधनप्रति दु:ख व्यक्त गरेकी छन्। आइतबार ट्विट गर्दै राष्ट्रपति भण्डारीले गायिका मंगेशकरको निधनप्रति दु:ख व्यक्त गरेकी हुन्। मंगेशकरको शनिबार राति उपचारका क्रममा: निधन भएको हो। उनी ९२ वर्षकी थिइन्।

‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मंगेशकरको निधनको खबरले मलाई दु:खी बनाएको छ। असाधारण प्रतिभाकी धनी दिवंगत लता मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छन्।

केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो। मंगेशकरको जन्म सन् १९२९ सेप्टेम्बरमा मध्य प्रदेशको इन्दोर सहरमा भएको थियो। उनको परिवारको पृष्ठभूमि शास्त्रीय संगीतको थियो। औपचारिक शिक्षा हासिल नगरेकी मंगेशकरले भने बलिउड सिनेमाका लागि गीत गाएकी थिइन्। जुन कुरा उनको परिवारलाई सुरूमा मन नपरेको उनले एक अन्तर्वार्ताका क्रममा बताएकी थिइन्।

Europass CV in Nepal

सन् १९४९ मा उनले महल भन्ने सिनेमा लागि पहिलो पटक गीत गाएकी थिइन्। त्यही गीतले उनको चर्चा चुलिएको थियो। आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन्। मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन्।

राजा महेन्द्रले लेखेको ‘आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ…’ गीतमा मंगेशकरले स्वर भरेकी थिइन्। अरू नेपाली गायक/गायिकासँग पनि उनले गीत गाएकी छन्।मंगेशकरले भारतका प्रतिष्ठित भारत रत्न, पद्मभुषण, दादासाहेब फाल्के अवार्डलगायत पुरस्कार र सम्मान पाएकी थिइन्। मंगेशकरको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दु:ख व्यक्त गरेका छन्।

Europass CV in Nepal