झण्डै चार बर्ष रोकिएको एमसीसी सम्झौता आज संसदमा पेश हुने भएको छ । अमेरिकाले फागुन १६ सम्म पारित नगरे फिर्ता लैजाने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि संसदमा पेश गर्ने मनस्थितिमा पुग्नुभएको हो । उहाँले नेतृत्व गरेको नेपाली कांग्रेसले पनि एमसीसी पारित गर्ने निर्णय गरिसकेको छ ।
तर, सत्तारुढ दलको दोस्रो ठूलो घटक नेकपा माओवादी केन्द्र भने अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्ध उभिएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल हुँदा विरोध जनाउने माओवादी केन्द्रले जनाएको छ ।
सडकबाट पनि दबाव दिने उद्देश्यले उसले आफ्ना सबै जनवर्गीय संगठनहरुलाई एमसीसीको विरोधमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टीको निर्देशन अनुसार आज माओवादी केन्द्रका जनवर्गीय संगठनहरुले नयाँबानेश्वरमा प्रदर्शन गर्दैछन् ।
पार्टी अध्यक्ष प्रचण्ड निकट माओवादी केन्द्रका एकजना नेताले संसदमा एमसीसी टेबुल हुँदा माओवादी केन्द्रले विरोध जनाउने बताए । प्रतिनिधि सभा सदस्यसमेत रहेका ती नेताले अनलाइनखबरसँग भने, ‘हामी स्पष्ट रुपमा एमसीसीको विरोधमा छौं ।
संसदमा टेबुल भए हामी विरोध जनाउँछौं ।’ दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्नुअघि बिहान १० बजे बोलाइएको संसदीय दलको बैठकले त्यसै अनुसारको निर्णय गर्ने ती नेताको भनाइ छ ।