एमसीसी टेबुल हुँदा माओवादी केन्द्रले संसदमै धावा बोल्ने, जनवर्गीय संगठनहरु सबै सडकमा

एमसीसी टेबुल हुँदा माओवादी केन्द्रले संसदमै धावा बोल्ने, जनवर्गीय संगठनहरु सबै सडकमा

४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्ध उभिएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल हुँदा विरोध जनाउने माओवादी केन्द्रले जनाएको छ ।

सडकबाट पनि दबाव दिने उद्देश्यले उसले आफ्ना सबै जनवर्गीय संगठनहरुलाई एमसीसीको विरोधमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टीको निर्देशन अनुसार आज माओवादी केन्द्रका जनवर्गीय संगठनहरुले नयाँबानेश्वरमा प्रदर्शन गर्दैछन् ।

पार्टी अध्यक्ष प्रचण्ड निकट माओवादी केन्द्रका एकजना नेताले संसदमा एमसीसी टेबुल हुँदा माओवादी केन्द्रले विरोध जनाउने बताए । प्रतिनिधि सभा सदस्यसमेत रहेका ती नेताले अनलाइनखबरसँग भने, ‘हामी स्पष्ट रुपमा एमसीसीको विरोधमा छौं ।

Europass CV in Nepal

संसदमा टेबुल भए हामी विरोध जनाउँछौं ।’ दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्नुअघि बिहान १० बजे बोलाइएको संसदीय दलको बैठकले त्यसै अनुसारको निर्णय गर्ने ती नेताको भनाइ छ ।

माओवादी केन्द्रले युवा, विद्यार्थी, महिलालगायतका सबै जनवर्गीय संगठनहरुलाई एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार आज बिहान ११ बजे नयाँबानेश्वरमा भेला भएर विरोध प्रदर्शन गर्न लागेको वाईसीएलका नेता सुवोध शेर्पालीले बताए ।

‘महिला, विद्यार्थी, युवा, मजदुर लगायतका पार्टीका सबै जनवर्गीय संगठन भेला भएर विरोध प्रदर्शन गर्छौं’ शेर्पालीले भने, ‘यो पार्टीले दिएको निर्देशन अनुसार हो ।’ नेकपा (एकीकृत समाजवादी)ले पनि एमसीसीको विरोधमा आजै नयाँबानेश्वरमा प्रदर्शन गर्दैछ ।

Europass CV in Nepal