यथास्थितिमा एमसीसी अगाडि नबढाउने माओवादीको निर्णय, जबरजस्ती गरे सरकार नै छोड्ने

यथास्थितिमा एमसीसी अगाडि नबढाउने माओवादीको निर्णय, जबरजस्ती गरे सरकार नै छोड्ने

काठमाण्डाै ।  नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसकिने निर्णय गरेको छ । बुधबार बिहान संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले एमसीसी परियोजना संशोधन नगरी संसदमा पेश गरे त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । माओवादीले एमसीसी परियोजनालाई संशोधन र परिमार्जन नगरी यथास्थितिमा संसदबाट पारित गर्न नसकिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताउनुभयो । उहाँले एमसीसी परियोजना अगाडी बढाउने हो भने राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले सदन अवरुद्ध गरिरहेको अवस्थामा सदन सुरु नभइकन कुनै पनि एजेण्डाहरु अगाडि बढ्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । प्रमुख प्रतिपक्षलाई सदन सञ्चालन गर्न आग्रह गर्ने पनि उहाँले बताउनुभयो ।

‘दलको बैठकले मुख्य रुपमा ३ वटा निर्णय गरेको छ । पहिलो कुरा यो एमसीसीमा रहेका असमान सर्तहरु, असमान राष्ट्रिय हित प्रतिकुलका प्रावधानहरु संशोधन नगरिकन, परिमार्जन नगरिकन, यथास्थितिमा यसलाई अगाडि बढाउन सकिदैनँ, यसलाई पास गर्न सकिदैन’ प्रमुख सचेतक गुरुङले भन्नुभयो, ‘एमसीसीको इस्युमा राष्ट्रिय सहमति नजुटीकन दलहरुको बीचमा कमसेकम सर्वदलीय सहमति नजुटीकन यो प्रक्रिया अगाडि बढ्न सक्दैन । कमसेकम सरकारमा रहेका दलहरुको बीचमा सहमति हुनुपर्छ ।’

Europass CV in Nepal

सत्तारुढ दलको सहमतिबिना एमसीसी परियोजना संसदबाट पारित भएमा गठबन्धन स्वत्ः तोडिने प्रमुख सचेतक गुरुङले बताउनुभयो । गठबन्धन तोडेर एमसीसी अगाडि बढाइए माओवादी केन्द्र सरकारबाट बाहिरिने उहाँले बताउनुभयो ।

‘सरकारले जर्बजस्ती गर्न खोज्यो भनेदेखि त अब सहमति बिना गर्ने कुरा त सरकारले गठबन्धन तोडेर गर्ने कुरा हो । गठबन्धन तोडेर गइसकेपछि सरकारमा रहने कुरा सायद आउँदैन । गठबन्धनको प्रणाली अनुसार दलहरुको सहमतिको आधारमा गठबन्धनको निर्णय नै सरकारको निर्णय हुन्छ’, उहाँले भन्नुभयाे, ‘गठबन्धनको निर्णय बिना सरकारको निर्णय हुन सक्दैन । त्यसैले गठबन्धनको निर्णय बिना सरकारले अथवा कुनै घटकले आफ्नो ढंगले चल्न खोज्यो भने गठबन्धन तोडियो भन्ने कुरा हुन्छ ।’

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । त्याे बैठकमा सरकारले एमसीसी परियोजना टेबुल गर्ने तयारी गरेको छ । सहमति बिना जबर्जस्ती गरे बरु सरकार छोड्न नै तयार रहेको माओवादीले चेतावनी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एमसीसी संसद बैठकमा टेबल गर्ने तयारी गर्नु भएको छ । तर, सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अगाडि नबढाउने अडान राख्दै आएका छन् ।

Europass CV in Nepal