गठबन्धन टुटे पनि एमसीसी पास गर्नुपर्छ : शशांक कोइराला

गठबन्धन टुटे पनि एमसीसी पास गर्नुपर्छ : शशांक कोइराला

काठमाडौँ ।  सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शशांक काइरालाले सत्ता गठबन्धन टुटे पनि एमसीसीलाई संसद्‍बाट अनुमोदन गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि ‘एमसीसी त्याग्ने’ वा ‘गठबन्धन बचाउने’ दुई विकल्प
मात्रै रहेको भन्दै गठबन्धन टुटे पनि एमसीसी पास गर्नुपर्ने बताए ।

शुक्रबार संसद्‍ बैठक स्थगित भएपछि नेता कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन् । नेता कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्ने पक्का रहेको दाबी समेत गरे ।

‘एमसीसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरू उभिरहेका छन् । हाम्रो अस्तित्व नै डामाडोल हुन्छ । अमेरिकी सेना यहाँ आउँछन् जस्ता धेरै कुराहरू छन् । ९ वटा मुलुकमा एमसीसी जुन चलिरहेको छ त्यसमा त कोही सेना परिचालन भएको छैन । त्यसलाई पनि आधार मानेर मलाई के लाग्छ भने एमसीसी हामीले पारित गर्नुपर्छ,’ डा कोइरालाले भने, ‘तर शेरबहादुरजीको अघि दुई उपाय छन् ।

Europass CV in Nepal

एउटा एमसीसी पास गराउने । अर्को सत्ता नबिग्रियोस् भन्ने । यो विकल्प उहाँले नै रोज्नुपर्ने हो । उहाँले कुन रोज्नुहुन्छ ? एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म । गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नुपर्छ । दुईमध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ । एमसीसी पारित गरौँ भन्ने मेरो सल्लाह हो । किनभने ५ सय मिलियन डलर धेरै हो । यसले ट्रान्समिसन लाइनदेखि बाटोसम्म यत्रो ठूलो अनुदान हतपत कसैले दिँदैन । यसको पछि उनीहरूको कुनै स्वार्थ छैन भन्ने मलाई लाग्छ ।’

साथै एमसीसीमा अमेरिकाको कुनै स्वार्थ नरहेको पनि उनको जिकिर थियो । सत्तरुढ दल नेपाली कांग्रेसले संसद्‍बाट एमसीसी पास गर्नुपर्ने भन्दैआएको छ । यद्यपि गठबन्धन दलका शीर्ष नेताहरूले मिश्रित प्रतिक्रिया दिन थालेका छन् । एकीकृत समाजवादीले परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने भनेको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमति गर्नुपर्ने अडान राख्दैआएको छ ।

Europass CV in Nepal