एमसीसीका कारण एकीकृत समाजवादी दल विभाजनको मुखमा, नयाँ पार्टी गठन गर्ने झलनाथको तयारी

एमसीसीका कारण एकीकृत समाजवादी दल विभाजनको मुखमा, नयाँ पार्टी गठन गर्ने झलनाथको तयारी

काठमाडौं, ८ फागुन । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल विभाजनको मुखमा पुगेको छ । एमसीसीलाई लिएर पार्टीभित्र चर्को मतभेद थियो । हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी सदनमा टेबुल गर्न दिने निर्णय गरेलगत्तै असन्तुष्ट नेताहरुले छुट्टै छलफल सुरु गरेका थिए ।

आज सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सदनमा टेबुल गर्दै गर्दा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले उभिएर नै विरोध गरेका थिए । उनले संविधानविपरित जबर्जस्ती रुपमा संसदमा एमसीसी टेबल गरिएको भन्दै आक्रोशसमेत पोखेका छन् ।

उता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद भीम रावलले पनि एमसीसी सदनमा टेबुल नगर्न सभामुख अग्निप्रसाद सापकोटासमक्ष आग्रह गरेका थिए। सञ्चारमन्त्री कार्कीले सदनमा एमसीसी प्रस्ताव पारि गर्नको लागि आग्रह गर्दै गर्दा सांसद रावलले पनि नाराबाजी गरेका थिए ।

Europass CV in Nepal

उनले उभिएर नै विरोध जनाएका थिए । संसद् बैठकबाट बाहिरिने क्रममा नेता खनालले एमसीसी सम्झौता संसदमा ल्याइनुले मुलुक नै ‘ट्रयापमा परेको’ टिप्पणी गरेका थिए । उनले भनेका थिए,‘एमसीसी सम्झौता संसदमा जबरजस्ती ढंगले ल्याइएको छ । यसलाई संसदमा ल्याउनुले नेपाल फसेको छ । भोलीका दिनमा अझ समस्या थपिने निश्चित छ।’

उनले अमेरिकी दबावका कारण मुलुकमा ध्रुवीकरण बढेको भन्दै नेकपा एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिनै नसक्ने बताए । ‘हाम्रो पार्टीको स्थायी कमिटी बैठकले यथास्थितिमा एमसीसी पारित हुन नदिने निर्णय गरेको छ ।’ एमसीसीलाई लिएर उनले अध्यक्ष माधव नेपालप्रति कडा आक्रोश पोखेका छन् ।

पछिल्लो समय एमसीसीको कारण नेकपा (एकीकृत समाजवादी) विभाजनको मुखमा पुगेको छ । खनालले अब माधव नेपालसँग सहकार्य गर्न नसकिने भन्दै असन्तुष्ट नेताहरुसँग छुट्टै छलफलसमेत थालेको पाईएको छ । झलनाथ खनालको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्नेसम्मको परिस्थिति उत्पन्न भएकोले सोहीअनुसार गृहकार्य भैरहेको समाजवादीका एक नेताले जनाए ।

विश्वस्त्र सूत्रकाअनुसार झलनाथ खनालको नेतृत्वमा नयाँ दल दर्ता भए भीम रावल, घनश्याम भुषाल, झपट रावललगायत एमालेका थुप्रै नेता तथा सांसदहरु पनि जोडिने तयारी भएको छ । एमालेभित्रका एमसीसीका कट्टर विरोधीहरुहरुले पार्टीमा विद्रोह गर्ने तयारी गरेका छन् । एमसीसीको विषयमा एमालेले नरम नीति लिएको उनीहरुको बुझाई छ ।

खनालले एमसीसीबारे पार्टीले लिएको नीति गलत भन्दै यसको भण्डाफोर गर्ने र तत्कालै नयाँ दल गठन गर्ने तयारी गरेको स्रोतको दाबी छ । खनालको नेतृत्वमा बन्ने दलमा वामदेव गौतम पनि सहभागी हुने बुझिएको छ । गौतमले एमसीसी फिर्ता लैजानको लागि अमेरिकासँग आग्रह गर्दै आएका छन् ।

Europass CV in Nepal