पुटिन थप आक्रामक, लगाए ३६ देशमाथि हवाई प्रतिबन्ध !

पुटिन थप आक्रामक, लगाए ३६ देशमाथि हवाई प्रतिबन्ध !

युक्रेन अतिक्रमण थालेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन थप आक्रामक बनेका छन् । पाँच दिन लामो युद्धपछि युक्रेनसँग बेलारूसको सीमामा वार्ता गरिरहँदा रूसले ३६ देशका हवाई कम्पनीमाथि उडान प्रतिबन्ध लगाएको छ ।

रूसले लगाएको प्रतिबन्ध भोग्नेमा बेलायत, जर्मनी, स्पेन, इटली र क्यानडा पनि छन् । यूरोपेली संघ (ईयू) ले रूसी स्वामित्व रहेका, रूसमा दर्ता भएका र नियन्त्रण रहेका विमान कम्पनीहरूलाई आफ्नो हवाई क्षेत्रमा उपस्थिति जनाउन रोक लगाएसँगै पुटिन नेतृत्वको रूसले २६ देशका हवाई कम्पनीमाथि आफ्नो भूभागमा उडान भर्न रोक लगाएको हो ।

युक्रेनमाथि आक्रमण थालेपछि बेलायतले रूसी एअरफ्लोट विमानलाई उडानमा प्रतिबन्ध लगाएको थियो । यसको जवाफमा रूसले पनि ब्रिटिस एअरलाइन्सलाई उडान प्रतिबन्ध लगाइसकेको छ ।

युक्रेनमा अक्सिजन अभाव, बेलायतमा पेट्रोलको भाउ आकासियो

रूसले हमला गरेपछि युक्रेनमा यतिखेर कोरोना संक्रमित बिरामी र लडाइँमा घाइते भएकाहरूको उपचार निम्ति मेडिकल अक्सिजन अभाव भएको छ । अक्सिजन आपूर्ति खतराको स्तरमै झरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

मेडिकल अक्सिजन बोक्ने ट्रक लडाइँका कारण अस्पतालसम्म पुग्न सकिरहेका छैनन् । राजधानी कियभका अस्पतालहरूमा अक्सिजन नहुँदा हाहाकार मच्चिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आउँदो २४ घण्टाभित्र त्यहाँ सबै मेडिकल अक्सिजन स्टक सकिने स्थिति छ ।

डब्ल्यूएचओले पोल्याण्डको मार्ग भएर युक्रेनमा अक्सिजन पठाउने व्यवस्था मिलाउने प्रयास गरिरहेको जनाएको छ । युक्रेनका कतिपय अक्सिजन प्लान्टहरूमा आवश्यक जियोलाइट नै अभाव भएको डब्ल्यूएचओले जानकारी दिएको हो । जियोलाइटबाटै सुरक्षित मेडिकल अक्सिजन उत्पादन गरिन्छ ।

अर्कोतिर, बेलायतमा पेट्रोलको मूल्य अचाक्ली महँगिएको छ । कच्चा तेलको मूल्यमा भएको अत्यधिक वृद्धि असर त्यहाँका पेट्रोल पम्पहरूमा देखिन थालेको छ । सोमबार बेलायतमा पेट्रोलको मूल्य प्रतिलिटर १.५१ पाउण्ड पुगेको छ । डिजेलको मूल्य पनि १.५५ पाउण्ड पुगेको छ । कच्चा तेलको सबैभन्दा ठूलो निर्यातक रूस हो, जो अहिले युक्रेनमा हमला गरिरहेको छ ।

बेलायतले आफूलाई आवश्यकमध्ये ६ प्रतिशत तेलमात्रै रूसबाट आयात गर्ने गर्छ । युक्रेनविरुद्ध हमला गरेपछि यतिखेर रूसमाथि अन्तरराष्ट्रिय प्रतिबन्ध लागेको छ । यो प्रतिबन्धका कारण आपूर्ति नहुँदा तेलको मूल्य निकै बढ्ने आंकलन छ । ​(बीबीसी)