जुडोमा ब्ल्याकबेल्ट प्राप्त पुटिनको मानार्थ पद खोसियो

जुडोमा ब्ल्याकबेल्ट प्राप्त पुटिनको मानार्थ पद खोसियो

मस्को । युक्रेन र रुसबीचको युद्ध चौँथो दिनमा पुग्दा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) ले आफ्नो महत्वपूर्ण समर्थक तथा मानार्थ अध्यक्ष एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मानार्थ पदवी खोसेको छ । आइतबार बिहान एक विज्ञप्तिमार्फत आईजेएफले युक्रेनमाथि आक्रमण गरेकै कारण पुटिनको पदवी खोसेको हो ।

विज्ञप्तिमा लेखिएको छ,”युक्रेनमा हाल जारी रहेको युद्धको सिलसिलामा अन्तर्राष्ट्रिय जुडो महासंघले भ्लादिमिर पुटिनलाई महासंगको मानार्थ अध्यक्ष र सदभाव दूतको पदबाट निलम्वन गर्ने निर्णय गरेको छ ।”

पुटिनले गत बिहीबार युक्रेनमाथि आक्रमणका लागि फौजलाई आदेश दिएका थिए । आइतबारसम्मको तथ्यांक अनुसार ३५२ जना युक्रेनी सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य १ हजार ६ सय ८४ जना घाइते भएका छन् । त्यसैगरी १ सय १६ जना घाइते बालबालिका मध्ये १४ जनाको मृत्यु भएको छ ।

Europass CV in Nepal

जुडोमा ब्ल्याकबेल्ट प्राप्त पुटिनले सन् २००४ मा ‘जुडो : इतिहास, सिद्धान्त, अभ्यास’ शीर्षकको पुस्तकको सहलेखनसमेत गरेका थिए । उनले सन् २०१२ को लन्डन ओलम्पिक्समा जुडोमा प्रतिस्पर्धा गरेका थिए ।

आईजेएफका अध्यक्ष मरिअस एल. भाइजरद्वारा हस्ताक्षरित ‘शान्तिका लागि जुडो’ शीर्षकको यही विज्ञप्तिमार्फत् आईजेएफले आगामी मे महिनामा रुसको काजानमा आयोजना हुने भनिएको ग्रयान्ड स्लाम प्रतियोगिता रद्द गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी, खेलकुद समुदाय सदैव शान्ति, मित्रता र एकता प्रवर्द्धन गर्न एकअर्का र साझा मूल्यलाई समर्थन गर्दछौँ । जुडो परिवारले अन्तत: वर्तमान अस्थिरताको अन्त्य हुने र पुन एकचोटि युरोपको विविध संस्कृति, इतिहास र विरासतमा अत्यन्तै सकारात्मक ढंगले लक्षित हुनसक्ने गरी पुर्वी युरोप र विश्वमा सामान्य अवस्था र स्थिरता कायम हुने आशा गर्दछ ।”

रुसको आक्रमक नीतिविरुद्धको आईजेएफको अडानलाई अन्य अन्तर्राष्ट्रिय खेलकुद समुदायले पनि साथ दिएको छ । पोल्यान्ड, स्विडेन र चेक गणतन्त्रले सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनौट चरणमा रुससँगका खेल नखेल्ने घोषणा गरेका छन् ।

यसैबीच पूर्व विश्व च्याम्पियन युक्रेनी बक्सिङ खेलाडी भिताली, लादिमिर क्ल्त्स्चिको तथा भासिली लामोचेनकोले आफ्नो मुलुकको प्रतिरक्षाका लागि हतियार उठाउने प्रतिवद्धता जनाएका छन् ।

Europass CV in Nepal