रेखा र ऋचा भन्छन्, नाबालिगको संरक्षण गर्नु समाजको दायित्व हो

रेखा र ऋचा भन्छन्,  नाबालिगको संरक्षण गर्नु समाजको दायित्व हो

काठमाडौं । एक नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अभिनेता पल शाह केही दिनदेखि जिल्ला प्रहरी कार्यालय, तनहुँको हिरासतमा छन् ।

प्रहरीले गत बुधबार नै पक्राउ पुर्जी जारी गरेपनि पललाई पक्राउ गर्न सकेको थिएन । गत आइतबार पलले प्रहरी कार्यालय पुगेर आत्मसर्मपण गरेका थिए । अदालतले पललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ ।

यो प्रकरणमा कलाकारहरुले आ-आफ्नै धारणा व्यक्त गरिरहेका छन् । अभिनेत्री रेखा थापाले २० वर्षमुनिका नाबालिका भएकाले उनीहरुको संरक्षण गर्ने दायित्व समाजको भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छन्, ‘२० वर्षमुनिका छोरीहरु बालिका हुन्, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् ।

Europass CV in Nepal

समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो । कोसँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएको नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।’

रेखाको जस्तै भनाइ अभिनेत्री ऋचा शर्माको पनि छ । ऋचाले लेखेकी छन्, ‘मुलुकी अपराध संहिताले १८ वर्षमुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो भन्छ । कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेका कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो । राज्य भनेको हामी पनि त हौ नि । हैन र ? १८ वर्षमुनिकाको सहमतिमै यौन सम्बन्ध भएपनि बलात्कार ठहरिनुको कानुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै ।

अनि नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रबन्ध गरिएको हो । यति बुझौं नाबालिगकै करमा पनि कसैले सम्बन्ध राख्यो भने त्यो बलात्कार हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न । मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण कानुनको सम्मान हो ।’

ऋचाले घुमाउरो तरिकाले पलको पक्षमा लागेर उजुरी दिने गायिकाको चरित्र हत्या गर्ने समाजप्रति पनि आक्रोश व्यक्त गरेकी छन् । यता, अभिनेत्री पूजा शर्माले पल शाह चाँडै नै फर्केर आउने र उनीसँग आफूले अर्को चलचित्रमा काम गर्ने बोलिरहेकी छन् । अभिनेत्री करिश्मा मानन्धरले पनि पलको पक्षमा आफू रहेको बताइन् । करिश्माले पललाई ‘स्टे स्ट्रोङ’ भन्दै शुभेच्छासमेत व्यक्त गरिन् । करिश्मा र पूजाको यो अभिव्यक्तिमा केही अभिनेत्रीहरुले केटी मान्छे भन्ने बित्तिकै समाजमा हिलो छ्याप्ने प्रचलन व्याप्त रहेको बताए ।

 

Europass CV in Nepal