कम्युनिस्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै हाे : अध्यक्ष लिङ्देन

कम्युनिस्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै हाे : अध्यक्ष लिङ्देन

काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गर्नुभएकाे छ । आज बुधवार पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्ताे बताउनुभएकाे हाे ।

अध्यक्ष लिङ्देनले देशलाई कम्युनिस्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै त्याे राप्रपा मात्रै भएको दाबी गर्नुभयो । उहाँले राप्रपालाई आउँदा दिनमा निर्णायक र अग्रणी शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीहरू र नेपाली कांग्रेसले अवलम्बन गरेको वैचारिक मार्गचित्रको विकल्प राप्रपाले अवलम्बन गरेको निरन्तरतासहितको परिवर्तन नै हो । कम्युनिस्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ र त्यसको नेतृत्व राप्रपाले मात्रै गर्न सक्छ । यो वास्तविकता हो । राप्रपाबाहेक कम्युनिस्ट र कांग्रेसको विकल्प तत्काल अरू कुनै पार्टी बन्छ अथवा बन्न सक्ने सम्भावना छैन ।’

Europass CV in Nepal

यस्तै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरूले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएका कारण वैदेशिक सम्बन्ध खलबलिन पुगेको बताउनुभएको छ । प्रमुख राजनीतिक दलहरूकै कारण नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थलको रूपमा परिणत भएको उहाँले बताउनुभयो । उहाँले दलहरूको सत्ता केन्द्रित क्रियाकलापका कारण देश गम्भीर सङ्कटतर्फ गइरहेकाे उल्लेख गर्नुभयाे ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘अहिले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण देश गम्भीर सङ्कटतर्फ उन्मुख छ । वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढीको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण हाम्रो वैदेशिक सम्बन्ध पूर्ण रूपमा खलबलिन पुगेको छ । र नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थलमा परिणत भएको छ ।’

उहाँले राज्यका प्रमुख तीन अङ्गका बीचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलतको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको बताउनुभयाे ।

राप्रपाको केन्द्रीय कार्य समिति बैठक आज बुधवारदेखि सुरु भएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजंग गुरुङले प्रस्तुत गर्नुभएको सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री एवम् स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गर्नुभएको आसन्न स्थानीय तहको चुनावसम्बन्धी प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठक भाेलि पनि बस्ने उहाँले बताउनुभयो । आजकाे बैठकले यसअघि केन्द्रीय पदाधिकारीको बैठकले गरेका सबै निर्णयहरूलाई अनुमोदन पनि गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

Europass CV in Nepal