भीम रावलको चुनौती: चीनले सीमा मिचेको हो भने वार्ता किन नगरेको? डर लाग्छ भने मलाई पठाउ

भीम रावलको चुनौती: चीनले सीमा मिचेको हो भने वार्ता किन नगरेको? डर लाग्छ भने मलाई पठाउ

काठमाडौं । नेकपा एमाले नेता डा. भीमबहादुर रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्न सरकारले चीनले सीमा मिचेको भनेर प्रचार गरेको आशंका गरेका छन्।

चीनले सीमा मिचेको हो किन वार्ता नगरेको भनेर उनले प्रश्न गरेका छन् । एमाले अछाम-काठमाडौं सम्पर्क मञ्चको ११औं सम्मेलनलाई सम्बोधन गर्दै रावलले चीनसँग वार्ता गर्न डराएको हो भने आफूलाई प्रतिनिधिका रुपमा पठाउन चुनौती दिए ।

‘कर्णालीमा कांग्रेसका मुख्यमन्त्रीले चीनले सीमा मिचेको भनेका छन् । यदि चीनले सीमा मिचेको छ भने कांग्रेसकै मुख्यमन्त्री छन् । कांग्रेसकै परराष्ट्रमन्त्री छन् । सभापति देउवाजी आफैं प्रधानमन्त्री छन् । चीनसँग वार्ता कसले रोक्यो ? नेपाली जनतालाई जवाफ चाहिन्छ,’ उनले भने ।

Europass CV in Nepal

रावलले थपे, ‘चीनसँग वार्ता गर्न डर लाग्छ भने सरकारले निर्णय गरेर मलाई विशेष प्रतिनिधि बनाएर पठाउनुस् । म गएर कुरा गर्छु । चिनियाँ प्रधानमन्त्रीसँग नेपाली जनताको तर्फबाट वार्ता गर्छु ।’

तर वार्ता नगर्ने र सीमा मिच्यो भनेर प्रचारमात्रै गरिरहने हो भने यो भारतीय हस्तक्षेप ढाकछोप गर्ने षडयन्त्र हुने उनको भनाइ छ । ‘होइन यो गर्नुहुन्न भने कर्णाली प्रदेशमा सीमा मिचेको भनेर तपाईहरुले गरेको प्रचार लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्ने षडयन्त्र हो । याद गर्नुस्,’ रावलले चेतावनी दिए ।

उनले कालापानीमा भारतीय सेना आउँदा सुदूरपश्चिम घर भएका प्रधानमन्त्री देउवा, उनका परराष्ट्र मन्त्री कहाँ छन् भनेर प्रश्नसमेत गरे ।

 

Europass CV in Nepal