विराटनगरमा एक रात बस्ने राष्ट्रपतिको चाहना, सुरक्षा प्रोटोकलमा समस्या

विराटनगरमा एक रात बस्ने राष्ट्रपतिको चाहना, सुरक्षा प्रोटोकलमा समस्या

राष्ट्रपति कार्यालयबाट विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई शीतलनिवासबाट एक्कासी फोन आयो र काठमाडौं बोलाइयो । अप्रत्याशित फोनले पराजुलीलाई झस्कायो । चुनावको मुखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट के भन्नलाई बोलाइएको हो भन्ने विषयमा उनलाई खुल्दुली भइरह्यो ।

दुई हप्ता अगाडि निम्तो मान्न मेयर पराजुली राष्ट्रपति कार्यालयमा हाजिर भए । उनी शीतलनिवासमा पराजुली पुग्दा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल पनि त्यहीँ भेटिए । यसले झनै पराजुलीलाई झस्कायो । एमाले अध्यक्षलाई समेत राखेर राष्ट्रपतिबाट के गर्न खोजिएको होला भन्ने थप शंका पराजुलीको मनमा उब्जियो ।

तर, यो बोलावट कुनै राजनीतिक विषयमा केन्द्रित थिएन । विद्यार्थीकालदेखि विराटनगरसँग साइनो जोडिएको हुनाले यहाँ एकरात बस्ने राष्ट्रपति भण्डारीका चाहना रहेछ । यही कारण राष्ट्रपति भण्डारीले मेयर पराजुलीसँग विराटनगर क्याम्पसमा एक कार्यक्रम गर्ने अनि एकरात यसै बास बस्ने चाहना राखिन् ।

Europass CV in Nepal

तर, सुरक्षा प्रोटोकलका कारण आफू बिराटनगरमा बस्न नपाउने र इटहरीस्थित सेनाको ब्यारेकमा बस्नुपर्ने बाध्यता सुनाइन् । मेयर पराजुलीसँगको दुई घण्टा लामो कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले विद्यार्थीकालमा विराटनगरमा बसेको, महेन्द्र मोरङ क्याम्पसमा राजनीति गरेको अनुभव सुनाइकी थिइन् । राष्ट्रपति भण्डारीले पराजुलीसँग भनिन्, ‘विराटनगरमा एकरात बस्ने मेरो इच्छा छ, तर, सुरक्षा प्रोटोकलले होटलमा दिँदैन र इटहरी लगिहाल्छन् ।’

राष्ट्रपति भण्डारीले सो सन्दर्भमा चिनेजानेका यहाँका अग्रज तथा दांैतरीहरुसँग अनौपचारिक भलाकुसारी गर्ने इच्छा राखेकी थिइन् । ‘विराटनगर बसेर तामझामवाला कार्यक्रम गर्नेभन्दा पनि अनौपचारिक हिसावले गफगाफ गर्ने राष्ट्रपतिको चाहना छ,’ स्रोतले भन्यो । त्यसक्रममा राष्ट्रपतिले आफू पढेको कलेजलाई केही सहयोग गर्ने चाहनासमेत राखेकी थिइन् ।

राष्ट्रपतिले विराटनगर आउने चाहना राखेको कुरा प्रष्ट पार्दै विराटनगरका प्रमुख भीम पराजुलीले सोही अनुसारको कार्यक्रमको तयारी गरिरहेको रातोपाटीलाई बताए । ‘विराटनगरमा एउटा प्रोग्राम राख्ने कुरा भइरहेको छ । महेन्द्र मोरङको प्राज्ञिक व्यक्तिहरु, स्ववियुका पूर्वसभापतिहरू, पदाधिकारीहरूसहितको कार्यक्रम राख्ने र उपयुक्त समयमा राष्ट्रपतिलाई बोलाउने तयारीमा छौं ।’

भीआइपी बस्ने ठाउँ

विराटनगरमा सुरक्षा प्रोटोकलको नाममा नेपाली सेनाले राष्ट्र प्रमुखलाई बस्न नदिने गरेको स्रोतको भनाइ छ । तर, यसअघि प्रथम राष्ट्रपति डा. रामवरण यादव एक रात जैन भवनमा बसेका थिए । राजाहरुको सवारीमा भने उनीहरु इटहरी ब्यारेकमै बस्ने प्रचलन थियो ।

त्यसो त कतिपय प्रधानमन्त्रीहरु विराटनगर आउँदा हाटखोलास्थित नेपाल राष्ट्र बैंकको गेष्ट हाउसमा बस्ने गरेका थिए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भने विराटनगर आउँदा आफ्नै घरमा बस्थे । तथापि राष्ट्रपति भण्डारीलाई सुरक्षा र प्रोटोकलका कारण विराटनगरमा कहाँ बास बसाउने भन्ने समस्या देखिएको छ ।

प्रदेश १ का प्रहरी प्रमुख डीआइजी अरुणकुमार बीसीले राष्ट्रपतिलाई विराटनगरमा बस्न कुनै सुरक्षा चुनौति नरहेको बताए । ‘उहाँलाई त्यसखालको व्यवस्थापन गर्न सकिन्छ, सुरक्षा संयन्त्रले विराटनगरमा व्यवस्थापन गरौं भन्ने निर्णय गर्यो भने त्यसको लागि हाम्रो संयन्त्र तयार छ,’ बीसीले रातोपाटीसँग भने ।

राष्ट्रपति भण्डारीको विराटनगरसँगको साइनो

राष्ट्रपति विद्यादेवी भण्डारीको विराटनगरसँग विशेष साइनो छ । उनले महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गरेकी हुन् । उनी महेन्द्र मोरङको स्ववियु निर्वाचनमा कोषाध्यक्षसमेत निर्वाचित भएकी थिइन् । उनले पञ्चायत विरोधी आन्दोलनको बेलामा पटक–पटक विराटनगरमा सुरक्षा निकायको पिटाइ खाएकी थिइन् भने गिरफ्तारीमा समेत परेकी थिइन् ।

उनी विराटनगरमै रहँदा आठ वर्षसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को पूर्वी क्षेत्र–सङ्गठनको नेतृत्वमा रहेकी थिइन् ।

उनको विराटनगरसँग साइनो रहनुमा महेन्द्र मोरङ क्याम्पस मात्रै होइन । उनका श्रीमान मदन भण्डारीसँग पनि विराटनगरमै भेट भएर विवाह भएको हो । भण्डारीको विवाह २०३९ सालमा कम्युनिष्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग भयो । उनको विवाह महेन्द्र मोरङ क्याम्पसको दक्षिणमा रहेको एक घरमा अशोक राईको पहलमा भएको थियो ।

Europass CV in Nepal