मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

काठमाडौं–धादिङ दुबैतर्फको काम सँगसँगै

Himali Patrika 1 मिनेट पढाइ

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा कंक्रिट लाइनिङको काम सुरु भएको छ। मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको कारोबार अनलाइनले लेखेको छ।

आयोजना प्रमुख नरेशमान शाक्यले भन्नुभयो, “यता सुरुङमार्ग छेड्ने काम पनि भइरहेको छ। सँगै फिनिसिङ गर्ने काम पनि सुरु गरेका हौं। यसले गर्दा आयोजनाले गति पनि लिन्छ।” समयमै आयोजना सम्पन्न गर्न दुई सिफ्टमा काम भइरहेको शाक्यले बताउनुभयो। आयोजनाको कुल भौतिक प्रगति ४६ प्रतिशत पुगेको छ। आइतबारसम्म काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्गको ९ सय ९५ मिटर र निकासी सुरुङमार्गको १३ सय ६७ मिटर काम भएको छ। हालसम्म २५ सय ३२ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको आयोजनाले जारी गरेको प्रगति विवरणमा उल्लेख छ।

गत वर्ष पुस ७ गतेबाट सुरुङ छेड्ने काम थालिएको थियो। ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाइको सुरुङमार्गको शिलान्यास गर्नु भएको थियो। २४ सै घण्टा करिब ५ सय ८० प्राविधिक जनशक्ति सहितको टोलीले सुरुङमार्ग खन्ने काम गरिरहेको आयोजना प्रमुख शाक्यले बताउनुभयो। “औसतमा १० मिटरसम्म दैनिक सुरुङ खन्ने काम भइरहेको छ। आगामी साउन–भदौसम्ममा सुरुङ खन्ने काम सकिने छ। त्यसपछि अन्य फिनिसिङको काम हुन्छ,” उहाँले भन्नुभयो। कोभिडका कारण आयोजनाको समय ८६ दिन थप गरिएको भए पनि तोकिएकै समयमा निर्माण पूरा गर्ने गरी काम भइरहेको शाक्यले बताउनुभयो।

ड्रिलिङ र ब्लास्टिङ प्रविधिबाट सुरुङमार्ग खनिएको छ। उहाँका अनुसार दुई सुरुङमार्ग निर्माण गरिनेछ। पहिलो आकस्मिक सवारीको लागि ४ मिटर चौडाइको र अर्को ९ मिटर चौडाइको निर्माण हुनेछ। सुरुङमार्ग प्रवेशमा पेट्रोलियम पदार्थ बोक्ने र दुईपाङ्ग्रे सवारीलाई भने प्रतिबन्ध गरिनेछ।

जापानी निर्माण कम्पनी हाज्मा एन्दो कर्पोरेसनले निर्माणको जिम्मा लिएको सुरुङमार्गको धादिङतर्फ र काठमाडौंतर्फको भागमा एकै साथ खन्ने काम भइरहेको छ। काठमाडौंतर्फको सुरुङमार्गबाट माटोलाई पहुँच मार्ग र धादिङतर्फबाट निकालिएको माटोलाई रोडसाइड सर्भिस स्टेसन निर्माणको लागि माटो भर्ने काम, निर्माण स्थलको साइट क्लियरेन्सको काम भइरहेको छ। सरकारले १ सय ९ मध्ये ४४ रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गरेको थियो। जसमा करिब ६ अर्ब रुपैयाँ मुआब्जाको लागि खर्च भइसकेको छ।

दुई इन्टरचेन्ज (फ्ल्याइ ओभर र अन्डरपास) ब्रिजसहित निमार्ण हुने छ। सुरुङमार्गले नागढुंगा–सिस्नेखोला करिब साढे ८ किमि दूरीलाई २.६८ किमिमा छोट्याउने छ। सुरुङमार्ग र फ्लाइओभर नेपालको पहिलो पूर्वाधार हो। नेपाल सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा आयोजना निर्माण हुन लागेको हो। सीआरआइ नेपाल 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।