यूपीमा योगीको कीर्तिमानी जित : मुख्यमन्त्रीको सपथमा आउन नेपाली सांसदलाई निमन्त्रणा

यूपीमा योगीको कीर्तिमानी जित : मुख्यमन्त्रीको सपथमा आउन नेपाली सांसदलाई निमन्त्रणा

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाली सांसदलाई भ्रमणमा आउन निमन्त्रणा गरेका छन्। बिहीबार विधानसभामा निर्वाचित आदित्यनाथले दोस्रो कार्यकालको मुख्यमन्त्री पदको सपथ समारोहमा सहभागी हुन नेपाली सांसदलाई निमन्त्रणा गरेका हुन्।

गोरखपुरबाट भारी मतले विधानसभा चुनाव जितेका आदित्यनाथले यूपीमा लगातार दोस्रोपटक सत्तामा फर्किने कीर्तिमान कायम गरेका छन्। आदित्यनाथले आफूसँगै भारतीय जनता पार्टीलाई पनि भारी बहुमत दिलाएका छन्। ४०३ सीटमा भाजपाले २७३ सीट जितेको छ। यो भनेको करिब ६८ प्रतिशत नतिजा हो।

कीर्तिमानी नतिजासँगै उत्तर प्रदेशमा दोस्रोपटक मुख्यमन्त्रीको सपथ लिन लागेका आदित्यनाथले नेपाली सांसद अभिषेकप्रताप शाहलाई सपथ ग्रहण समारोहमा उपस्थितिका लागि शुक्रबार निम्तो दिएका छन्। सत्तारुढ नेपाली कांग्रेसका सांसद शाहले योगीबाट निम्तो आएको अन्नपूर्णलाई बताए। नेपाली प्रतिनिधिमण्डल लिएर आफू सपथ समारोहमा उपस्थित हुने उनले बताए।

Europass CV in Nepal

शुक्रबार बिहान शाह र योगीबीच टेलिफोन सम्वाद भएको थियो। सम्वादमा शाहले योगीलाई दोस्रो कार्यकालका लागि निर्वाचित भएकोमा बधाई दिएका थिए। बधाईमा धन्यवाद दिएका मुख्यमन्त्री योगीले सपथमा निमन्त्रणा दिँदै नेपाल-भारत सम्बन्ध, सीमावर्ती सम्बन्ध, धार्मिक, सांस्कृतिक सम्बन्धबारे चर्चा गरेको शाहले बताए।

शाह उत्तर प्रदेशसँग सीमा जोडिएको लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाका संघीय सांसद हुन्। उनको आदित्यनाथसँग धार्मिक, पारिवारिक र राजनीतिक सम्बन्ध छ। साथै सीमा क्षेत्रमा आउने समस्या समाधानमा शाहले सिधै आदित्यनाथसँग पहल गरेर सुल्झाउने गरेका छन्।

सांसद शाहले योगीसँग लखनऊमा नेपाल-भारत सम्बन्ध, उत्तर प्रदेश-लुम्बिनी-कपिलवस्तु सीमा सम्बन्ध, नेपाली कांग्रेस-भाजपा र धार्मिक सम्बन्धका विषयमा छलफल हुने बताए। ‘योगीजीसँग विविध विषयमा छलफल हुन्छ। उहाँको नयाँ कार्यकालमा सम्बन्ध अझै सुदृढ ढंगले अघि बढ्ने विश्वास लिएको छु,’ उनले भने।

Europass CV in Nepal