मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

लिपुलेक, लिम्पियाधुरा क्षेत्रकाे पनि जनगणना गरिने

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । भाेलि बिहीवारदेखि सुरु हुने बाह्रौँ राष्ट्रिय जनगणनाको सबै तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना भाेलि बिहीवारदेखि सुरु हुन लागेकाे हाे ।

आज बुधवार पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाका लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको बताउनुभयो । जनगणनाकाे अवधि कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म १५ दिनको हुने उहाँले बताउनुभयो । जनगणना सञ्चालन गर्नका लागि देशभरमा सात प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र तीन सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

काठमाण्डाैमा भने पाँच वटा जनगणना कार्यालय स्थापना गरिएको र धेरै जनसङ्ख्या भएका जिल्लाहरू– मोरङ, झापा, सुनसरी, ललितपुर, रुपन्देही र कैलालीलगायतका जिल्लामा भने दुई/दुई वटा जिल्ला जनगणना कार्यालय रहेको महानिर्देशक श्रेष्ठले बताउनुभयो । जनगणनाका लागि देशभर ४० हजार गणक र आठ हजार पाँच सय सुपरीवेक्षक परिचालन हुने उहाँले बताउनुभयो ।

तथ्याङ्क विभागका महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रूपमा आवतजावत गर्न दिएमा भौतिक रूपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवतजावत गर्न नदिएमा अन्य स्रोतको प्रयोग गरेर जनगणना गरी त्याे क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भारत सरकारबाट सहज आवतजावत दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी भाैतिक रूपमै उपस्थित भएर त्यहाँ जनगणना गर्छाैँ । कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन । कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जानकारी हामीले अन्य स्रोतहरूबाट र त्यहाँसँग सम्बन्धित अन्य व्यक्तिहरूबाट या नजिक हाम्रो पहुँच भएको ठाउँबाट लिँदा सात सयदेखि आठ सयसम्मको हाराहारीमा जनसङ्ख्या त्यहाँ रहेको छ भन्ने प्रारम्भिक कुरा हामीले प्राप्त गरेका छौँ ।

अहिले प्रविधिको विकास साह्रै राम्रो भएको छ । स्याटेलाइट प्रयोग गरेर ती क्षेत्रमा कति घर छ भन्ने त सजिलैसँग गन्न गर्न सक्छौँ । एउटा घरमा औसत परिवार कति बस्दो रहेछ भन्ने विवरण लिन पनि हामीलाई गाह्रो हुँदैन । यसरी त्यहाँको केही अनुमान हामी निकाल्न सक्छौँ । त्यो अनुमानसहितको रिपोर्ट हामी प्रकाशन गर्नेछौँ ।’

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले सङ्घीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना भएकाले यो जनगणनाको निकै महत्त्व रहेको बताउनुभयो । सबै तहमा चाहिने खण्डीकृत विवरण जनगणनाबाट आउने बताउनुभयो । आउँदा दिनमा विकासका योजना तर्जुमा गर्न र बजेट बनाउनका लागि यो जगणना माउ ग्रन्थको रूपमा रहने उहाँले बताउनुभयो ।

काठमाण्डाै महानगरपालिकासहित काठमाण्डाैका ६ नगरपालिकामा डिजिटल पद्धतिमा आधारित ‘क्यापी’ विधि प्रयोग गरी ट्याबलेटबाट विवरण सङ्कलन गरिने तथ्याङ्क विभागले जनाएको छ । साथै विदेशमा रहेका नेपाली कुटनीतिक नियोगहरूमा ई–सेन्सस विधि अपनाइ वेबसाइट एप्लिकेशहनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरूको जनगणना सङ्कलन गरिने भएको छ । यस पटकको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।