भारतसँग आँखामा आँखा जुधाएर कुरा गने एमाले मात्र : ईश्वर पोखरेल

भारतसँग आँखामा आँखा जुधाएर कुरा गने एमाले मात्र :  ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले नेपालको इतिहासमा भारतसँग आँखामा आँखा जुधाएर कुरा गने एमाले नै रहेको दाबी गरेका छन् । सोमबार जनकपुरधाममा नेकपा एमालेको धनुषा जिल्लाको सातौँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले मुलुकमा रहेका अधिकांश दलका नेताहरू भारत सरकारको चाकडी गर्नका लागि टाउको निहुराएर आशीर्वाद थाप्ने गरेको बताएका हुन् ।

उनले माओवादीदेखि मधेसवादी दलहरूसम्मले भारतको चाकडी गरेको आरोप लगाए । मधेस आन्दोलनको क्रममा लामो समयसम्म आन्दोलनकारीले नाकाबन्दी गरेको स्मरण गर्दै उनले एमालेले त्यतिबेलापनि भारतसँग नडराएको जिकिर गर्दै अन्ततः नाकाबन्दी खोलाएरै छाडिएको समेत दाबी गरे ।

उनले एमालेले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने बताएका छन् । कम्युनिष्टले दुई तिहाइको बहुमत हुँदा समेत काम गर्न नसकेको आरोप लागिरहेको भन्दै उनले भने, ‘२०७४ सालको निर्वाचनमा एमालेसँग एक्लै बहुमत थिएन । माओवादीलगातयकासँगको वाम गठबन्धन पश्चात् बहुमतको बनेको र उपेन्द्र यादवको पार्टीको समर्थन पश्चात् करिब दुई तिहाइको बहुमत भएको थियो । तर अबको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा एमाले एक्लै बहुमत ल्याउँछ ।’

Europass CV in Nepal

उनले एमाले पार्टी कुनै नेताको बिर्ता नरहेको बताए । श्रमजीवी जनता, हरेक कार्यकर्ताको पार्टी रहेको भन्दै माधव नेपालले एमालेलाई आफ्नो बिर्ता ठानेको बताए । उनले भने, ‘उहाँको केही समस्या छैन, एउटा मात्र समस्या छ, त्यो हो उहाँ एमालेलाई आफ्नो बिर्ता ठान्नुहुन्छ । १४ वर्ष जेल बसेका केपी ओलीलाई माधव नेपालज्यूले पचाउनै सकेनन् ।’ उनले कम्युनिष्ट पार्टीलाई जिन्दाबाद भने पनि पार्टीभित्रको जिम्दारीलाई मुर्दावाद भन्नुपर्ने बताए ।

त्यस्तै उनले प्रचण्डले केपी ओली दुई पटक किड्नी फेरेकोले जान्छ भनेर दुई अध्यक्षीय प्रणाली लागु गरे, तर त्यस्तो नभएपछि नेपाल र दाहालको साँठगाँठ बनेको र पार्टी विभाजन भएको बताए । उनले भने, ‘पार्टीमा रहेका विभिन्न क्षेत्र, जात, समुदायका व्यक्तिलाई साथमा लिएर जान सक्नुपर्छ’, उनले अघि थप्दै भने, ‘नेताको नेतृत्वलाई स्वीकार गरे, नेताहरूको निर्णयको पालन गरे, नेताहरू सबैलाई समेटेर अगाडी बढे मात्र एमाले मजबुत हुन्छ ।’

त्यस्तै एमालेका सचिव रघुवीर महासेठले एमालेलाई मधेस विरोधी भन्नेहरू एमालेको सरकारमा सहभागी भएर एमाले मधेस विरोधी नरहेको पुष्टि गरिसकेको बताए । उनले सुरुमा उपेन्द्र यादवको नेतृत्वमा र पछि राजेन्द्र महतोको नेतृत्वमा मधेसवादी दलले एमालेको सरकारमा सहभागी भएर एमाले मधेस विरोधी नरहेको दाबी समेत गरे ।

एमालेको सातौँ धनुषा जिल्ला अधिवेशनमा करिब ११ सय प्रतिनिधिहरू सहभागी भएका छन् । नयाँ नेतृत्वका लागि मंगलबार बन्द सत्र हुनेछन् । धनुषा एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष पदका ४ जना आकाङ्क्षी छन् । वर्तमान अध्यक्ष राजकिशोर यादव, वर्तमान सचिव तेजनारायण यादव, अजय यादव र लक्ष्मी महतोलगायतका अध्यक्ष पदका आकाङ्क्षी छन् ।

 

Europass CV in Nepal