माओवादीका नेता रामचन्द्र झाले पार्टी छाडे, नेकपा एसमा प्रवेश गर्ने तयारी

माओवादीका नेता रामचन्द्र झाले पार्टी छाडे, नेकपा एसमा प्रवेश गर्ने तयारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) मा नेता तथा पूर्वमन्त्री रामचन्द्र झा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । पहिलो संविधानसभा विघटनपछि झा एमालेबाट माओवादीमा प्रवेश गरेका थिए । मंसिर ७ गते धनुषामा झाको निर्वाचन क्षेत्रको तिनकोरिया चोकमा औपचारिक कार्यक्रम गरेर माधवकुमार नेपालले पार्टीमा भित्र्याउने कार्यक्रम छ ।

माओवादीका केन्द्रीय सदस्य झाले नेकपा (एस) प्रवेश गर्न लागेको पुष्टि गरे । उनले माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालसँग औपचारिक रुपम बिदासमेत लिइसकेको जानकारी गराए । ‘माधव कमरेडसँग ३० वर्षसँगै काम गरेको हो । त्यो आफैले बनाएको घर हो नौलो कुरा होइन,’ झाले भने, ‘प्रचण्डजीसँग पनि औपचारिक रुपमा बिदावारी भइसकेको छु । अहिलेको लडाइँ केपी शर्मा ओलीको प्रवृत्ति विरुद्धमा हो ।’

ओली प्रवृत्तिको विरोधी लडाइँमा प्रभावकारी भूमिका नेपालसँग गएर हुने उनले बताए । ‘माओवादीको मनचित्त दुखाएर एकीकृत समाजवादीमा प्रवेश गर्न होइन,’ झाले भने । झालाई एकीकृत समाजवादीमा उपाध्यक्ष बनाउने तयारी छ । झा प्रदेश २ मा प्रभाव भएको नेतामा पर्छन् । माओवादीले स्थायी कमिटी सदस्य नबनाएको भन्दै झा असन्तुष्ट थिए ।

नेपालगन्जमा भएको एमालेको छैठौं महाधिवशनमा वैकल्पिक केन्द्रीय सदस्य भएका झा जनकपुर इन्चार्ज रहेका थिए । जनकपुरमा भएको सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका उनी एमालेको आठौं महाधिवेशनपछि पोलिटब्युरो सदस्य भएका थिए । पहिलो संविधानसभा निर्वाचनपछि उनी स्थानीय विकासमन्त्री बनेका थिए ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी परित्याग गरी नयाँ शक्ति गठन गर्दा झा उक्त पार्टीमा लागेका थिए । पछि फेरि माओवादीमा फर्केका थिए ।