मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

चुनावमा कांग्रेसले गठबन्धन गर्नुहुन्न, एक्लै जितेर देखाउनुपर्छ : महामन्त्री थापा

Himali Patrika 1 मिनेट पढाइ

काभ्रेपलाञ्चाेक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले चुनावमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताउनुभएको छ । उहाँले पार्टीको बनेपा नगरसमितिद्वारा आज बुधवार आयोजित वृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू चुनावमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताउनुभयो ।

‘पार्टीलाई चुनावमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु, नसके पार्टीको निर्णय मान्छु’, पूर्वमन्त्रीसमेत रहनुभएका थापाले भन्नुभयो । चुनावमा अन्य दलसँग गठबन्धनबारे केन्द्रीय बैठकमा गम्भीर छलफल हुने र पार्टीकै निर्णयअनुसार अघि बढ्ने उहाँले दोहोर्‍याउनुभयाे ।

पार्टीभित्र उम्मेदवार छान्दा मन परेन भन्न पाइने तर पार्टीले छानेको उम्मेदवार सबैको सर्वमान्य हुने महामन्त्री थापाले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मतदाताले पार्टी बदल्न पाउँछ तर एउटा पार्टीको भनेर अर्को पार्टीमा मत हाल्नु कदापि हुँदैन, पाप लाग्छ ।’ चुनावमा कांग्रेस एक्लैले जितेर देखाउनुपर्ने उहाँको तर्क थियो । महामन्त्री थापाले आउँदो पाँच वर्ष कांग्रेसलाई मत दिन जनतालाई अनुरोध गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

आफ्नो पार्टीले आउँदो पाँच वर्षका लागि बहुमत ल्याएर व्यवस्था ठिक ढङ्गले सञ्चालन गरी जनताको अवस्थामा सुधार गर्ने, युवालाई कतार र मलेसिया जानबाट रोकेर ‘जनशक्ति बेच्ने’ हैन सामान बेच्ने देश बनाइने उहाँले ठोकुवा गर्नुभयो । उहाँले थप्नुभयो, ‘हामीले स्थानीयमा मात्र हैन, प्रदेश र सङ्घमा पनि बहुमत ल्याउनुपर्छ ।’

कार्यक्रममा महामन्त्री थापाले पार्टीको जिल्ला, प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्र तथा स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई सम्मान गर्नुभएको थियो भने अन्य दलबाट कांग्रेसमा नवप्रवेशीहरूलाई क्रियाशील सदस्यता प्रदान गर्नुभएको थियो । आयोजकले १४ औँ महाधिवेशनमा महामन्त्री थापालगायत केन्द्रीय सदस्यमा निर्वाचितलाई सम्मान गरेको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।