काठमाडौँ । सत्ता गठबन्धन दलका नेताबीच सार्वजनिक मञ्चमा सवालजवाफ चलिरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटै तहमा चुनावी तालेमल गरेर अघि बढ्ने आश्वासन दिएका छन् । देउवाले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएर सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुनेमा आशंका नगर्न आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ ।
देउवाले कांग्रेसले फागुन २९ बाट सुरु गरेको अभियान सकिनासाथ तालमेलको निर्णय लिने बताएका हुन् । स्थानीय तहमा सबै ठाउँमा तालमेल सम्भव नभए पनि महानगरपालिका र उपमहानगरपालिकासम्म केन्द्रीय तहबाटै तालमेल गर्नेबारे नेताहरूबीच छलफल चलेको छ । अन्य पालिकामा स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर जानुपर्ने नेताहरुले बताएका छन् ।
कांग्रेसमा संस्थापनसँग असहमत पक्षले चुनावी तालमेल नहुने भन्दै दिइरहेको अभिव्यक्तिलाई लिएर दाहाल र नेपालले आशंका प्रकट गरेका थिए । कांग्रेस नेता शेखर कोइराला र उनको पक्षमा रहेका नेताले सत्ता गठबन्धन र चुनावी तालमेल अलग–अलग विषय भएको भन्दै कांग्रेस एक्लै चुनाव लड्नुपर्ने बताइरहेका छन् । कोइराला समूहका नेताहरूको अभिव्यक्तिलाई लक्षित गर्दै बिहीबार माओवादी अध्यक्ष दाहालले कांग्रेसले लखेट्न खोजे एमालेसँग पनि तालमेल हुन सक्ने बताएका थिए ।
‘एमालेसँग तत्काल कुनै छलफल भएको छैन तर कांग्रेसमा पनि केही अतिवादी नेता छन्, उनीहरुकै कारण कांग्रेसले लखेट्न खोज्यो भने के हुन्छ भन्न सकिँदैन,’ लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा दाहालले भनेका थिए, ‘राजनीतिमा असम्भव केही हुँदैन ।’
दाहालका स्वकीय सचिव एवं केन्द्रीय सदस्य रमेश मल्लले स्थानीय तहसम्म गठबन्धनको संयत्र बनाउने विषयमा बालुवाटारमा छलफल भएको बताए । ‘स्थानीय तहसम्म संयन्त्र बनाएर अघि बढाउने कुरा भयो,’ उनले भने । देउवालाई आफूले तालमेल गर्न नसके ०७४ को निर्वाचनमा जस्तै एमालेसंँग चुनावी समीकरण बन्न सक्ने भय छ । त्यसकारण उनले तीनै तहको चुनावमा एकैसाथ तालमेलको सहमति गर्न खोजेका छन् । तर, पार्टीभित्रकै फरक विचार समूहका कारण उनले चाहेजस्तो निर्णय गराउन सकेका छैनन् ।