मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

ओलीजी हास्य कलाकार बनिसक्नुभयो : डा.प्रकाश शरण महत

Himali Patrika 1 मिनेट पढाइ

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्व राज्य सञ्चालनमा असफल भैसकेको बताएका छन् । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको शंखमूलमा निर्मित शंखपार्कको आज समुद्घाटन गर्दै पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्रीसमेत रहेका महतले एमाले अध्यक्ष ओलीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेको चुनाव चिन्हमा मतदान गरेर पुण्य कमाउन दिएको उपदेशको जवाफमा सो कुरा बताएका हुन् ।

नेकपा एमालेका अध्यक्ष ओलीमा काम गर्ने हैन, ठट्टा गर्ने बानी रहेको उल्लेख गर्दै उनले भने, ”राजनीति गर्ने मान्छेहरू देशको समृद्धि र जनताको सुख तथा सुविधालाई केन्द्रमा राख्ने हुनाले सधैँ गम्भीर हुन्छन् । तर उहाँले हास्य कलाकारको जस्तो हँसिमजाक बनाउनुभयो । शासन सत्ता सञ्चालन गर्न तपाईं र तपाईंको पार्टी असफल भयो । ५ वर्षलाई दिएको जनादेश साढे ३ वर्ष पनि टिकाउन सक्नु भएन ।”

महतले नेकपा एमालेका अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा प्राप्त गरेको झण्डै दुई तिहाइको समर्थन जोगाएर राख्न नसकेको, आफ्नै पार्टीलाई एकताबद्ध राख्न नसकेको र दुई तिहाइको समर्थन कायम रहँदा त्यसको दुरुपयोग गर्दै प्रतिनिधिसभा विघटन गरेकोले संविधानको रक्षा गर्न, देशमा कानुनी शासन बहाली गर्न, सुशासन कायम गर्न नेपाली काँग्रेस अग्रसर हुनुपरेको पनि उल्लेख गरे।

महतले अघिल्लो चुनावमा निकै आकर्षक नारा दिएर जनतालाई झुक्याएर जिते पनि कम्युनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको जिकिर गरे । उनले नेपाली काँग्रेस फोस्रा आश्वासन दिन नजान्ने र जे गर्न सकिन्छ, त्यही भन्ने भएकोले अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीप्रति आकर्षित हुँदा जनतालाई धोका भएको पनि उल्लेख गरे ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।