१२ चैत, राजपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले माओवादीले आगामी स्थानीय तहको निर्वाचनमा एक्लै चुनाव जित्ने गरी तयारी गर्नुपर्ने बताउनुभएको छ ।
माओवादी केन्द्र राजपुर गाउँपालिकाको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता आचार्यले माओवादीसँग जनताका एजेण्डाहरू धेरै भएकाले जनताले साथ दिने स्पष्ट पार्नुभयो । सङ्घीयता, गणतन्त्र, संविधान र प्राप्त उपलब्धिकाे रक्षाका लागि आगामी निर्वाचनमा सत्तारूढ दलहरूबीच चुनावी गठबन्धन हुनुपर्ने उहाँले आवश्यकता औंल्याउनुभयो ।
अहिलेको गठबन्धन संविधान र गणतन्त्र रक्षाका लागि भएको उल्लेख गर्दै नेता आचार्यले आगामी तीनओटै तहका निर्वाचनसम्म चुनावी गठबन्धन हुनुपर्ने स्पष्ट पार्नुभयो ।
राजपुर गाउँपालिकामा माओवादी केन्द्रले चुनाव जितिसकेको उल्लेख गर्दै नेता आचार्यले सबै नेताकार्यकर्ताहरू जनताको साथमा गएर जनपक्षीय एजेण्डा उठाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
राजपुर गाउँपालिकामा भूमिहीन, सुकुम्बासी तथा नदी किनारमा अव्यवस्थित बसोबास गरिरहेका नागरिकको उचित व्यवस्थापनका लागि ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
नाका क्षेत्रको विकासमा माओवादीले विगतदेखि नै काम गर्दै आएको उल्लेख गर्दै आचार्यले सडक सञ्जाल विस्तारमा थप कार्यक्रम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आर्थिक विकासको मुख्य आधार सडक सञ्जाल भएकाले नाका क्षेत्रमा भएका विभिन्न सडकखण्ड हरूको गुणस्तर बढाउनमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
हालै माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका नेता प्रमोद शर्माको प्रसङ्गमा कुरा गर्दै नेता आचार्यले भने, ‘नेकपा माओवादी केन्द्रका नेता प्रमोद शर्माले पार्टी छाड्नु विचलन भएको बताउनुभएको छ ।’ शर्मामा तीब्र महत्वकाङ्क्षा, व्यक्तिवादी चिन्तन र अराजक शैली भएका कारण विचलन भएको बताउनुभयो । शर्मा पार्टीभित्र शान्ति प्रक्रियापछि धेरै अवसर पाउने नेता भएकाले बाहिर प्रचार गरेजस्तो अन्याय नभएको उहाँले स्पष्ट पार्नुभयो । माओवादी वरिष्ठ नेता कृष्णबहादुर महरा र समग्र माओवादी केन्द्रलाई बदनाम गराउने नियतले शर्मामा विचलन पैदा भएको आचार्यले आरोप लगाउनुभयो ।
कम्युनिष्ट आन्दोलनभित्र केही पात्रहरूमा यस्ता अराजकतावादी शैली विगतदेखि नै आउँदै गरेको उल्लेख गर्दै आचार्यले यस्ता घटनाक्रमबाट कोही पनि तरंगित हुन नहुने धारणा व्यक्त गर्नुभयो ।
माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य भीमकुमारी बूढा मगरले माओवादी आन्दोलनलाई अझ उचाइमा पुर्याउनु पर्ने धारणा व्यक्त गर्नुभयो । माओवादीले प्राप्त उपलब्धि रक्षा गर्दै थप उपलब्धि प्राप्तिका लागि संघर्ष गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला स्तरीय अन्य विभिन्न नेताहरूको सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा दर्जनौं व्यक्ति प्रवेश गर्नुभएको थियो ।



