बीआरआईमा कम्युनिष्टको चासो, कांग्रेसको बेवास्ता

बीआरआईमा कम्युनिष्टको चासो, कांग्रेसको बेवास्ता

१३ चैत, काठमाडौं । चिनियाँ परियोजना बीआरआई कार्यान्वयनमा नेपालका प्रमुख राजनीतिक दलहरुबीच मत बाझिएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा कम्युनिष्ट नेताहरूले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजना अघि बढाउन जोड दिएका छन् भने कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले त्यसबारेमा उल्लेखसमेत गरेका छैनन ।

शनिबार स्टेट काउन्सिलरसमेत रहेका वाङ र परराष्ट्रमन्त्री खड्काकाबीचमा भएको ९ बुँदे सम्झौतमा बीआरआई अन्तर्गतका परियोजनाबारे उल्लेख छैन ।

कांग्रेस नेताहरूले पनि चीनले दिने अरु सहयोगका विषयमा छलफल गरे पनि बीआरआई परियोजनाबारे चासो दिएका थिएनन । वाङ नेपाल आउनुअघि नै कांग्रेस नेताहरुले बीआरआई अन्तर्गतका परियोजना पनि एमसीसीझैं अनुदानमा दिने भए सहयोग लिन सकिने बताएका थिए ।

आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ विदेशमन्त्री वाङसँग गरेको छुट्टाछुट्टै भेटमा बीआरआई परियोजना छिटो अघि बढाउन आग्रह गरेका थिए ।

बीआरआई सम्झौतामा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको भएता पनि त्यसअन्तर्गतका एउटा पनि परियोजना अघि बढ्न सकेका छैनन ।