एमाले सभामा करिश्माले भनिन्- ‘मेरो न्वारानको नाम पनि ‘सूर्जेकुमारी’ हो

एमाले सभामा करिश्माले भनिन्- ‘मेरो न्वारानको नाम पनि ‘सूर्जेकुमारी’ हो

काठमाडौँ ।  केही दिनअघि मात्र नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वारानको नाम सूर्जेकुमारी भएको बताएकी छन् । कपिलवस्तुमा सोमबार एमालेद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेत्री मानन्धरले सूर्यले ‘सोलार सिस्टम’ धानेको र सूर्यले नै नेपाललाई धान्ने बताउँदै आफ्नो नामसमेत सूर्जेकुमारी रहेको बताएकी हुन् ।

‘आज एउटा कुरा रिभिल गरिदिऊँ कि जस्तो लाग्यो । मेरो न्वारानको नामचाहिँ सूर्जेकुमारी हो है‚’ उनले भनिन्‚ ‘सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्ने छ ।’

भाषणको सुरुवातमै एमाले उपाध्यक्ष विष्णु पौडेललाई वरिष्ठ उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई वरिष्ठ महासचिव भनेर सम्बोधन गरेकी उनले आफू भर्खरै मात्र एमालेमा प्रवेश गरे पनि यसरी बोल्ने अवसर दिएकोमा धन्यवादसमेत दिएकी थिइन् ।

Europass CV in Nepal

‘म एउटा नयाँ मान्छे । नेकपा एमाले पार्टीको निम्ति भर्खर छिरेको एउटा सदस्यलाई यसरी बोल्नलाई अगाडि सारेकोमा सबै नेतागणलाई धन्यवाद दिन चाहन्छु‚’ उनले भनिन्‚ ‘यहीँबाट थाहा हुन्छ कि यो पार्टीको हृदय कति विशाल छ भनेर । यहाँ नयाँहरूलाई मौका दिइन्छ ।’

एमालेले महिलाहरूलाई मौका दिने भन्दै अभिनेत्री मानन्धरले हरेक वर्ग‚ तह‚ तप्काका मानिसहरूलाई पार्टीले महत्त्वका साथ हेर्ने बताइन् ।

एमालेमा प्रवेश गरेपछिको करिश्माले पहिलो पटक आमसभालाई सम्बोधन गरेकी हुन् । करिश्मालाई चैत ८ गते अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराएका थिए ।

 

Europass CV in Nepal