मुख्य सामग्रीमा जानुहोस्
Saturday, 26 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

चुनाव नजिकदै जाँदा चिसोमा चाहिने सिरक गर्मीमा बाँड्दै स्थानीय तह

Himali Patrika 1 मिनेट पढाइ

जनकपुरधाम : तराई-मधेशमा अहिले चर्को घामले गर्मी बढेको छ। मौसम परिवर्तनसँगै गर्मी छल्ने मानिसहरु रुख वा शीतल स्थानको खोजीमा हुन्छन्। तराई मधेशमा गर्मीबाट बच्न सर्वसाधारण नागरिक आफ्नो हैसियत अनुसार पंखा, कुलरजस्ता विद्युतीय सामान धमाधम किनेर गर्मी छल्ने प्रयास गरिरहेका छन्। तर यस्तो गर्मी मौसमा धनुषाको एक स्थानीय तहले सिरक र कम्बल बाँडिरहेको छ।

आसन्न स्थानीय चुनाव नजिकदै जाँदा विस्तारै मौसमी गर्मीको पारो पनि चढ्दैछ। अर्कातिर चुनावी सरगर्मीले पनि तराई–मधेशलाई तताएको यी दुवै गर्मीबीच तराई–मधेशकै धनुषामा एउटा अनौठो दृश्य देखिएको छ। अन्य स्थानीय तहहरुले जाडोबाट छल्न सिरक र कम्बल मंसिर पुसमा बाडेपनि धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष भने जाडो छल्न हिउँदमा चाहिने कम्बल अहिले बाँडेर मतदाता फकाउँदैछन्।

यस्तो गर्मीमा पनि फाईवर सिरक वितरण गरिरहेको सुन्दा तपाईँलाई आश्चर्य लाग्न सक्छ। तर धनुषको बटेश्वर गाउँपालिकाले जाडोको बेला बाँड्नुपर्ने न्यानो कम्बल अहिले धमाधम बाँडिरहेको छ। गाउँपालिकाले मंगलबार पाँचवटा वडामा ७ सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ। यसअघि आठ लाख रुपैयाँ घुसकाण्डमा मुछिएका गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले गर्मीका बेला जाडोमा चाहिने कम्बल बाँडिरहेको स्थानीयले बताएका छन्।

जाडो महिनामै बाँड्नुपर्ने कम्बल त्यति बेला वितरण गर्न नसक्दा अहिले वितरण गरिको एकजना जनप्रतिनिधिले बताए। गाउँपालिका अध्यक्ष राउत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीको छापापछि १९ चैत २०७७ मा ८ लाख रुपैयाँ घुस सडकमा फ्याँकेर भागेका थिए। अख्तियारको टोली आएको थाहा पाएपछि अध्यक्ष राउत घुस लिएको रकम फ्याँकेर फरार भएका थिए। अख्तियारको टोलीले त्यसबेला अध्यक्ष राउत चढ्ने गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो।

अख्तियारले अध्यक्षको प्र–२–०२–००१ झ ०००२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको थियो। विकास निर्माणका योजनाहरूको कामको भुक्तानी दिन अध्यक्ष राउतले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएका थिए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।