श्रीलंकाका गभर्नरले पनि दिए राजीनामा

श्रीलंकाका गभर्नरले पनि दिए राजीनामा

काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका गभर्नरले पनि राजीनामा दिएका छन् । यसअघि श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए ।

त्यसको भोलिपल्ट श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजिथ निभार्ड कबरालले पनि राजीनामा दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश बढ्दो छ । सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ । प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ । कर्फ्युसमेत उल्लंघन गर्दै नागरिकहरु प्रदर्शनमा उत्रिएलगत्तै प्रधानमन्त्रीबाहेक सरकारका सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयताकै खराब आर्थिक स्थितिबाट श्रीलंका गुज्रिरहेको छ । डलरको कमीका कारण श्रीलंकाले अत्यावश्यक खाद्यान्न, औषधि, इन्धन लगायतका वस्तुसमेत आयात गर्न सकेको छैन । यसअघि कपि र मसी किन्ने पैसा अभावका कारण विद्यालयको परीक्षा स्थगित गरिएको छ । पेट्रोलपम्प र खाद्यान्न पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ ।