पीडितका बुबाले अदालतमा भने : बुझ्दै जाँदा थाहा भो पल त निर्दोष रहेछन्

पीडितका बुबाले अदालतमा भने : बुझ्दै जाँदा थाहा भो पल त निर्दोष रहेछन्

नायक पल शाहमाथि छोरी बलात्कारको आरोपमा आफूले दिएको जाहेरी झुटो रहेको जाहेरवालाले बताएका छन्। बुधबार जिल्ला अदालत तनहुँमा बकपत्रका क्रममा उनले आफूलाई दबाब दिएर जाहेरी दिन लगाइएको र पछि बुझ्दै जाँदा त्यो झुटो भएको थाहा भएको उनले बताएका हुन्।

दुई दिनअघि नाबालिगको बकपत्र गराउँदा पनि उनलाई साथै राखिएको थियो। उनकै संरक्षणमा नाबालिगको बयान गराइएको थियो। पीडित नाबालिगले पनि पल शाहले बलात्कार नगरेको बयान दिएकी थिइन्।

पल शाहको तर्फबाट बहस गरिरहेका एक अधिवक्ताले भने, ‘यसअघि सामाजिक सञ्जालमा आएका कुरालाई लिएर आफूमाथि केही व्यक्तिले दबाब दिएको र दबाबमा परेर जाहेरी दिएको पीडितका बुबाले बताउनु भएको छ।’

उनका अनुसार जाहेरवालाले बयानमा भनेका छन्, ‘सामाजिक सञ्जालमा आएको कुरालाई लिएर मलाई दबाब दिइयो। त्यस कारण जाहेरी दिन बाध्य भएको थिएँ। तर पछि बुझ्दै जाँदा यो झुटो भएको थाहा भयो। मैले पहिले दिएको जाहेरी गलत हो। आज गरेको बयान सही हो। पल शाह निर्दोष छन्। उनलाई सजाय हुनुहुँदैन।’

दुई दिन अघि नाबालिगले पनि आफूमाथि बलात्कार नभएको बयान दिएकी थिइन्। जाहेरीमा भने पटक पटक विभिन्न मितिमा बलात्कार भएको उल्लेख थियो।

जाहेरी दिन पहिले दुई पक्षबीच छलफल समेत भएको थियो। तर घटना छताछुल्ल भएको केही दिनपछि पीडितको तर्फबाट जिल्ला अदालत तनहुँमा जाहेरी दर्ता गरिएको थियो।

यता अडिओका बारेमा अदालतले गायक दुर्गेश थापालाई सोधेको छ। मंगलबार बयानमा दुर्गेशले पनि उक्त अडिओको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। उनले घटनाका बारेमा पनि केही थाहा छैन भनेको एक अधिवक्ताले जानकारी दिए।

‘अहिलेसम्म अदालतमा बयान गरिएका कसैले पनि घटना पुष्टि हुनसक्ने बयान दिनु भएको छैन। सबैले पल निर्दोष रहेको र कसैले आफूलाई थाहा छैन मात्रै भन्नु भएको छ’, उनले नेपालखबरसँग भने।

तनहुँमा अन्य साक्षी र घटनासँग जोडिएका व्यक्तिको बकपत्र जारी छ। तर पल शाहलाई भने बुधबार जिल्ला अदालत नवलपुरमा उपस्थित गराइने भएको छ। यसअघि थुनछेक आदेशकै क्रममा जिल्ला अदालत नवलपुरले उनलाई वैशाख ७ गते बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको थियो।

यसअघि दुवै जिल्लाका अदालतले पल शाह निर्दोष नदेखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए। त्यतिबेला पीडितले पनि पलले बलात्कार गरेको बयान दिएकी थिइन्।

पलले दिएको बयानमाथि पनि अदालतले प्रश्न उठाउँदै निर्दोष छन् भन्न सकिने अवस्था नरहेको उल्लेख गरेको थियो।

तर पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालत पोखरामा पल शाहले निवेदन दिएका छन्। थुनामुक्त गरेर मुद्दाको अन्तिम पुर्पक्ष गर्नु पर्ने उनको माग छ।

प्रारम्भिक सुनुवाइ पछि उच्च अदालत पोखराले जिल्ला अदालतको आदेशसम्बन्धी कैफियत प्रतिवेदन झिकाएको छ। केही दिनमा उच्च अदालतमा पनि सुनुवाइ हुनेछ।