विवादित वडाध्यक्ष मुकुन्द रिजाल भन्छन् , बलेनको यस्तो हर्कतले गर्दा काठमाडौंवासीको आत्मा रोएको छ

विवादित वडाध्यक्ष मुकुन्द रिजाल भन्छन् , बलेनको  यस्तो हर्कतले गर्दा काठमाडौंवासीको आत्मा रोएको छ

काठमाडौं । काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठक हिजो प्रत्यक्ष प्रशारण भएपछि सामाजिक सञ्जालमा ठूलै हंगामा भए । मेयर बालेन्द्र साहलाई केही वडाध्यक्षले अप्ठेरोमा पार्न खोजेको भनेर धेरैले टिकाटिप्पणी गरेका छन् । सबैभन्दा बढी आलोचित छन् वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल ।

यसअघि पनि एक कार्यकाल वडाध्यक्ष रहिसकेका रिजाल गत स्थानीय चुनावबाट लगातार दोस्रोपटक निर्वाचित बनेका हुन् । कांग्रेसबाट निर्वाचित उनले एमालेका लक्ष्मीरत्न तुलाधरलाई ६८९ मत हराएका थिए । हिजोको बैठकमा उनले प्रक्रियागत विषयमा विवाद उब्जाएका थिए ।

नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकामा फोहोरमैला व्यवस्थापन गर्नका लागि कार्यदल गठन गर्ने प्रस्ताव अघि सारेसँगै बैठकमा तनाव उत्पन्न भएको थियो । साहले आफ्नो नेतृत्वमा कांग्रेस र एमालेबाट दुई–दुई जना र समाजवादीबाट १ जना सदस्य रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेका थिए । सोही प्रस्ताव बमोजिम प्रशासकीय प्रमुखले पढेर सुनाए र भोलीपल्ट नै कार्यदलको बैठक बस्ने बताए । त्यसमा रिजालले आपत्ति जनाएका थिए ।

Europass CV in Nepal

रिजालको प्रस्तुति बालेन्द्रका समर्थकहरुलाई चित्त बुझेन । उनीहरुले सामाजिक सञ्जालमा रिजालविरुद्ध तीव्र प्रतिक्रियाहरु जनाइरहेका छन् । तर, रिजाल भने यसलाई ठूलो विषय मान्दैनन् । नेपाल प्रेससँगको कुराकानीमा उनले आफूलाई प्रतिक्रियाहरुसँग मतलब नरहेको बताए । हिजोको बैठक नै ‘कहिँ नभएको जात्रा हाँडिगाउँमा’ उखान चरितार्थ भएको उनको टिप्पणी छ ।

रिजालसँग नेपाल प्रेसले  गरेको वार्तालापः

हिजोको बैठकपछि सामाजिक सञ्जालमा निकै आलोचित भइरहनुभएको छ । तपाईंले प्रतिक्रियाहरु हेर्नुभएको छ कि छैन ?

म जनताको काममा लागेको मानिस हो । कसले के लेख्छ भनेर हेर्दिन म । कर्ममा विश्वास गर्ने मान्छे हँु र कर्म गरिरहेको छु । मान्छेले आ–आफ्नो स्तरबाट लेख्ने हुन् । मैले त्यो स्तरलाई हेर्न भ्याएको छैन ।

प्रत्यक्ष प्रशारण छ भन्ने थाहा पाउँदा पाउँदै किन आफूलाई संयमित राख्न सक्नुभएन त ?

संयम भनेको आदतको पनि कुरा हुन्छ । मेरो जिउ पनि यस्तो छ, बोली पनि ठुलो छ । तपाईंहरुसँग बोल्दा पनि मेरो स्वर ठुलो छ नि । नानीदेखिको बानी हटाउन सकिदैन ।

मानिसको रुप–रंग र आकारलाई हेर्ने होइन, विचारलाई हेर्ने हो । हामीकहाँ बैठक सञ्चालन गर्ने कार्यविधी भन्ने छ । त्यही कार्यविधी अनुसार चल्नु पर्ने थियो महानगरको बैठक । तर कुनै एनजीओको बैठक जसरी चलाउन खोजियो । मेयरले प्रस्तुत गर्नुपर्ने कुरा त्यहाँका कार्यकारीले प्रस्तुत गरेर मिटिङ नै अन्त्य गर्न लागेका थिए । दुनियाँमा कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो अवस्था भयो ।

विश्वले हेर्ने र नेपाललाई चिनाउने महानगरपालिकाको वैठकले देशकै अस्मितामाथि धब्बा लाग्ने हो कि भनेर चिन्ता लागेर बोलेको हुँ । हाम्रो बागमती प्रदेशले बैठक बस्ने जुन कार्यविधी बनाइएको छ, त्यसलाई एकपटक हेरिदिन प¥यो भनेर सुझाव मात्र दिएका हौँ हामीले ।

तपाईं अघिल्लोपटक पनि वडाअध्यक्ष हुनुहुन्थ्यो । पाँच वर्ष केही काम नगरेर खेर फाल्नुभएको आरोप छ नि तपाईंमाथि ?

म दाबाका साथ भन्छु, काठमाडौं महानगरपालिकाले गणतन्त्रपछिको पहिलो मेयर आदरणीय विद्यासुन्दर शाक्य पाएको थियो । उहाँ र हाम्रो टिम पार्टीभन्दा माथि उठेर जनताका समस्या र विकासमा जुट्यौ । हामीले ढल, खानेपानी र बाटो मात्र हैन धेरै कार्यविधी र नियमहरु बनायौँ । स्थानिय राजपत्र कार्यान्व्यनमा ल्याएका छौँ । काठमाडौं महानगरपालिकाको कार्यकारी बैठक कुन विधीबाट बस्ने भनेर किताब बनाएका छौँ । त्यसको अध्ययन गरिदिनु प¥यो ।

अहिले आएको मेयरसा’बलाई यस्ता धेरै कुराको जानकारी भएन होला । त्यही कारणले हिजोजस्तो स्थिति आएको हुँदा हामी दुखित छौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक त्यसरी बस्ने होइन । त्यो बोर्ड बैठक होइन, कार्यपालिका बैठक हो । जसरी क्याबिनेटको बैठक बस्छ, त्यसरी नै कार्यपालिकाको बैठक बस्ने गर्छ । तर हिजो त्यो प्रक्रियागत हुन सकेन । त्यो हुन नसकेर काठमाडौंबासीहरुको आत्मा रोएको छ ।

हामीले के सोचेका थियौ के भयो ? विधी, पद्दत्ति, प्रकृया र नेपाल सरकारको नियम–कानूनमा रहेर बैठक चलाइदिए राम्रो हुन्थ्यो भन्ने हो । मलाई संघीय मन्त्रालयबाट, स्थानीय निकायबाट फोन आइरहेको छ । होला प्रस्तुतिमा उठेर बोलियो होला, औंला ठड्याइयो होला । तर ती कुराहरु हामीले उभिएर नै बोलेका हौं । पहिला हामीलाई बस्ने ठाउँहरु छुट्टाइएको हुन्थ्यो ।

कार्यविधीमा हामीले बोल्ने समय तोकिएको हुन्थ्यो तर हिजो तीमध्ये केही पनि प्रकृया थिएन । भद्रगोल तरिकाले राखिएको थियो । त्यसले गर्दा नै त्यो स्थिति आयो । मेयर साबले पहिला बोर्ड बैठक र कार्यपालिका बैठक भनेको के हो पत्ता लगाउनुप¥यो ।

हिजोको बैठकमा तपाईंको आपत्ति प्रक्रियामा मात्रै थियो कि प्रस्तावमा पनि ?

हैन ! हामीले भनेका छौ मेयर साबलाई प्रक्रियागत भएन भनेर । प्रक्रियामा लिएर आउँ मेयरसा’ब, तपाईंले त्यही कुरा वाचन गर्नुस्, हामीले टेबुल ठटाएर पास गर्दिन्छौ भन्यौं । कार्यकारीज्युले पनि त्यो कुरा स्वीकारेर मसँग आएर ‘गल्ति भो मुकुन्दजी’ भनुसक्नुभएको छ ।

मिटिङ अन्त्य गरेपछि भएका कुरा हुन् यी । कार्यकारीले बैठकको अन्त्य गर्दैन । उहाँले त टिपोट मात्र गर्ने हो । तर त्यहाँ त के देखियो भन्दा प्रशासकीय प्रमुख नै मेयरजस्तो देखियो ।

स्वतन्त्र व्यक्ति मेयर बनेर आउँदा दलका प्रतिनिधिहरु असफल बनाउने खेलमा लाग्छन् भन्ने चर्चा छ । हिजोबाट तपाईं नै सबैभन्दा आलोचित हुनुहुन्छ । मेयरलाई असफल बनाउन नै लाग्नुभएको हो ?

मैले पहिला नै भनेको छु । प्रशासकीय प्रमुखले पार्टीको कुरा गर्दा मैले भनेको छु, पार्टीभन्दा माथि उठेर काठमाडौंको निर्माण गर्नुपर्छ । हिजो हामी एउटा–एउटा पार्टीको झण्डा लिएर उठ्यौं होला । तर अब महानगरपालिकामा आएपपछ १ लाख ९० हजार मतदाता र ४० लाख जनताको जीवन समृद्ध बनाउन एकढिक्का भएर आउनुपर्छ भनेर भन्ने मान्छे म नै हुँ । तपाईंहरुले हिजोको क्लीप हेर्नुस् ।

आफूभन्दा छोरा उमेरको व्यक्तिको अन्डरमा काम गर्नुपर्दा वडाध्यक्षहरुमा हिनतबोध भएको हो कि ?

त्यो हुन सक्दैन । विचार कहिल्यै सानो–ठुलो हुँदैन । विपी २४ कि ३४ वर्षमा गृहमन्त्री हुनुभाथ्यो । उहाँभन्दा बुढा मन्त्री थिए । तर पद, विचार र प्रतिष्ठालाई उमेरले केही गर्दैन । नविनतम सोच हुनुपर्छ । छलाङ मार्ने सोच हुनुपर्छ । हामीले त्यसलाई आधार मानिन्छ । उमेरलाई आधार मान्ने हामीकहाँ चलन छैन ।

हिजो पनि विद्यासुन्दर शाक्य ५६ वर्षको हुनुहुन्थ्यो । २–३ जना वडाध्यक्ष ८२ वर्षसम्मका थिए । त्यो त पदलाई मान्ने हो, उमेरलाई मान्ने हैन ।

तपाईंको विचारमा महानगरको बैठक लाइभ प्रशारण गर्नु चाहिँ कत्तिको व्यवहारिक हो ? यसले गोपनियता भंग हुन्छ कि हुँदैन ?

म आज एउटा कुरा गर्छु । हामीले पाँच घण्टाअगाडि गोपनियताको सपथ खायौँ, तर पाँच घण्टा पछाडि बैठक लाइभ गर्यौ । मेरो हैसियतभन्दा माथिको कुरा भएकोले यो प्रश्न तपाईंले कानुनविद्सँग सोध्नुहोला ।

तपाईंको व्यक्तिगत धारणा त भन्न मिल्छ नि ?

गोपनियताको सपथ केका लागि खुवाईन्छ ? महानगरमा प्रवक्ता हुन्छन्, प्रवक्ताले महानगरपालिकाको बैठकमा भएका कुराहरु बोल्ने परम्परा थियो । अब अहिले नयाँ परम्परा सुरु भएको छ । यसमा यो लाइभ गरिएकोमा म दुखी पनि छैन र कानुनी प्रकृयाले के भन्छ भन्ने विषयमा मलाई थाहा पनि छैन ।

नयाँ मेयरले अघि सारेका योजनाहरु कस्ता छन् ? रेस्टुरेन्टको शौचालय सार्वजनिक बनाउने प्रस्ताव कार्यान्वयन होला ?

हामीले विगतमा बनाएका स्मार्ट शौचालयलाई प्रयोगमा ल्याउन पर्छ । नेपाल सरकारले सार्वजनिक ठाउँमा पेट्रोल पम्पहरुमा शौचालय बनाउनुपर्छ भनेको छ । त्यससँगै रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय मलाई सह्राहनीय नै लागेको छ । तर आममानिस र रेस्टुरेन्ट सञ्चालकले कसरी सहकार्य गर्छन् भन्ने चाहिँ हेर्न बाँकी छ । त्यसलाई त स्वागतयोग्य भनेर पास नै गर्‍यौं नि ।

वडाहरुमा कांग्रेसको बहुमत छ । तपाईंहरुले गुटबन्दी सुरु गर्ने त होइन ?

हैन तपाईंहरु कस्तो भ्रममा हुनुहुन्छ ? म काठमाडौं महानगरपालिकामा एमालेको बहुमत हुँदा पनि विद्यासुन्दर शाक्यसँग सहकार्य गरेको व्यक्ती हुँ । हामी कांग्रेसका प्रतिनिधीहरु काठमाडौं महानगरपालिकाको समस्यासँग जुध्न गएका हौँ । हामीले एउटा पार्टीको झण्डालाई लिएर चुनाव लडे पनि काठमाडौंबासीको हितको लागि त्यहाँ गएका हौँ ।

यहाँका समस्या समाधान भएमा जनताको जीवनमा आमुल परिवर्तन हुने हुँदा हामी पार्टीभन्दा माथि उठेर मेयर सा’बले नयाँ किसिमका आयोजना ल्याउनु भयो भने हामी सहयोग गर्न तयार छौँ । हिजो सत्तापक्ष र प्रतिपक्ष हुँदा त हामीले सहयोग गर्यौं भने आज त कुनै पार्टीबिना नै स्वतन्त्र उम्मेदवारको रुपमा आउनु भएको मेयरलाई सहयोग नगर्ने कुरा हुँदैन । तर रेल चलाउनलाई लिग नै चाहिन्छ, सडकमा रेल गुड्दैन भन्ने मेयर साबले बुझदिन पर्यो‍ ।

Europass CV in Nepal