रुपन्देहीको रोहिणी नदीमा बस खस्यो, ९ जनाको मृत्यु

रुपन्देहीको रोहिणी नदीमा बस खस्यो, ९  जनाको मृत्यु

भैरहवा । रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४:३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ।

लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ । बसमा ३३ जना सवार रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले बताए । बस रुपन्देहीको रोहिणी गाउँपालिका-४ र ओमसतिया गाउँपालिका-४ को सीमामा रोहिणी नदीमा खसेको हो ।

घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको र ८ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बसमा रहेका ३३ जनामा २५ पुरुष, ६ महिला र २ बालिका थिए ।

घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको छ । उनीहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भीम अस्पतालमा उपचारका लागि ल्याइएका १३ जना घाइतेमध्ये एक महिला र तीन पुरुष तथा मेडिकल कलेजमा पुर्‍याइएका २० जनामध्ये ५ जना पुरुषको मृत्यु भइ मृतको संख्या ९ पुगेको हो।