सिसडोलमा गरिएका वाचा पूरा गर्न अर्बौं रकम चाहिन्छ : गगन थापा

सिसडोलमा गरिएका वाचा पूरा गर्न अर्बौं रकम चाहिन्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वमन्त्री गगनकुमार थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनका लागि सिसडोल र बन्चरे डाँडाका जनतासँग गरिएका वाचा पूरा गर्न अर्बौं रकम आवश्यक पर्ने बताएका छन् । यद्यपि आगामी वर्षको बजेटबाटै केही रकम त्यसका लागि छुट्याउन सकिने उनको सुझाव छ ।

उनले फोहोर व्यवस्थापनमा देखिएको पछिल्लो समस्याबारे संसद्‍लाई जानकारी गराइदिन पनि सहरी विकास मन्त्रीलाई आग्रह गरेका छन् ।

नेता सांसदले फोहोर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले हालै गरेका पहलको प्रसंसा गर्दै पछिल्लो समय देखिएको समस्याबारे जानकारी दिन आग्रह गरेका हुन् । उनले मंगलबार संसदमा यस्तो बताएका हुन् ।

उनले विवाद तथा सवाल जवाफ गर्न भन्दा पनि काठमाडौंको फोहोर व्यवस्थापनमा कस्ता समस्या कहाँ देखिए भन्नेबारे जानकारी गराइदिन आग्रह गरेका थिए । यस्तै नेता थापाले फोहोर व्यवस्थापनको काम एकै पटक समाधान गर्न कठिन हुने पनि बताएका थिए ।

आगामी वर्षको बजेटबाटै पनि ती स्थानको लागि रकम छुट्याउन सकिने उनको भनाइ थियो । नेता थापाले पछिल्लो समय सिसडोलवासीसँग फोहोर फाल्न सहमति भएको तर मंगलबार बिहानै स्थानीयले फोहोर फाल्न नदिएको बारे पनि संसदमा बताएका थिए ।

यस क्रममा उनले विदेशका केही अभ्यासको प्रसंग जोड्दै काठमाडौंको फोहोर व्यवस्थापनबारे सबै मिलेर दिगो समाधान खोज्नु पर्ने बताएका थिए । साथै यसअघि गरिएका वाचा पूरा गर्न पहल गर्नुपर्ने उनको भनाइ थियो ।