काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुललाई भर्ना गर्न वञ्चित गरिएका दलित विद्यार्थीलाई तीन दिनभित्र भर्ना गर्न अल्टिमेटम दिएको छ ।
अनेरास्ववियु उत्पीडित केन्द्रीय सम्पर्क कमिटीले बिहीबार गुरुकुलमा पुगेर सञ्चालक समितिसँगको छलफलपछि भर्ना नगरी फर्काइएका दलित बालकहरूलाई तत्काल भर्ना गर्न अल्टिमेटम दिएको हो ।
छलफलमा सञ्चालक समितिले आफूहरूसँग पर्याप्त सिट नभएको दाबी गरेको थियो । द्विपक्षीय छलफलपछि आफूहरूले तीन दिनभित्र विद्यार्थीहरू भर्ना गरी पठनपाठन गर्न पाउने वातावरण बनाउन आग्रह गरेको अनेरास्ववियुका स्थायी कमिटी सदस्य राजेश नेपालीले जानकारी दिए ।
अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनीता बरालले विज्ञप्ति जारी गर्दै दलित समुदायको भएकै कारण विद्यार्थीलाई भर्ना नगर्ने गुरुकुललाई कारबाहीको दायरामा ल्याउनसमेत माग गरेकी छन् ।





