बालेनप्रति एमाले सांसदको व्यङ्ग्य– ‘लौरो अहिले नुवाकोटे जनताको टाउकोमा बजारिन पुगेको छ’

बालेनप्रति एमाले सांसदको व्यङ्ग्य– ‘लौरो अहिले नुवाकोटे जनताको टाउकोमा बजारिन पुगेको छ’

प्रतिनिधि सभामा नेकपा एमालेका सांसद नारायण प्रसाद खतिवडाले फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतमाथि प्रहरी दमन भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नुवाकाटका जनतामाथि अन्याय भएको जनाए ।

‘यही जेठ महिनाको २४ र २५ गते नुवाकोटको ककनी र धादिङको धुनिवेशीको बीचमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको छ,’ संसदमा उनले भने, ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ ।’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हालै सम्पन्न स्थानीय तह चुनावमा लौरो चिन्हमा चुनाव लडेका थिए । शाह काठमाडौं महानगरको प्रमुख भएपछि फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतामाथि लौरो बजारिएको उनले बताएका हुन् ।

‘फोहोर व्यवस्थापनको नाममा १७ वर्ष अगाडिदेखि नुवाकोटमा जुन वेथिती भएको छ त्यसको व्यवस्थापन गरेर, स्थानीय जनताको जायज माग सुनेर त्यो पुरा गरेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था होस्,’ सांसद खतिवडाले भने ।