ढुंगा बोकेर दिनभर बन्चरेडाँडामा फोहोर फाल्ने टिप्पर पर्खनछन् स्थानीय

ढुंगा बोकेर दिनभर बन्चरेडाँडामा फोहोर फाल्ने टिप्पर पर्खनछन् स्थानीय

गत फागुनमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडा ल्यान्डफिल साइटमा दिएको अभिव्यक्तिप्रति स्थानीय विष्णुप्रसाद उप्रेती आक्रोशित छन् । मन्त्री झाँक्रीले ‘बन्चरे डाँडा ल्यान्डफिल नजिकै कुनै गाउँ पनि छैन; केही पनि छैन; मानिस बस्ने ठाउँ पनि छैन’ भनेपछि झाँक्रीसँग उप्रेतीलगायत सिसडोल र बन्चरेडाँडावासी आक्रोशित छन् ।

झाँक्रीको निर्देशनमा ‘प्रहरीलाई दमन गर्न लगाएर’ बन्चरेडाँडामा फोहोर विसर्जन गरिएको भन्दै स्थानीयवासी कतै सिसडोलको हालत बन्चरेमा पनि दोहोरिने त हैन भन्दै चिन्तामा छन् ।

पटक पटक सहमति गरे पनि कार्यान्वयन नगरेको र यसपटक भने ‘वार कि पार’ गर्ने भन्दै उनीहरूले फोहोर विसर्जन गर्न दिइरहेका छैनन् । कुहिने र नकुहिने फोहोर नछुट्याई सिधै बन्चरेडाँडामा फोहोर विसर्जन गरिएको भन्दै उनीहरू आक्रोशित छन् ।

गत जेठ २४ गते बन्चरेडाँडामा प्रहरी खटाएर १५७ ट्रक फोहोर विसर्जन गरे पनि फोहोरलाई व्यवस्थित रुपमा विसर्जन नगरिएको भन्दै सिसडोलवासी आन्दोलित भएका हुन् ।

बिहीबार पनि उनीहरू ढुंगा बोकेर बन्चरेडाँडा वरिपारिका डाँडामा दिनभर बसे । ‘हामीसँग गोलीगठ्ठा नभएकाले प्रहरीले घरघरमा आएर दमन गर्छ त हामी के गर्नु ? हामी पनि त्यसको प्रतिकारमा ढुंगा बोकेर उत्रिएका हौं,’ उप्रेतीले भने ।स्थानीय दिपेश ढुंगाना पनि बन्चरेडाँडातर्फ जाने सडकको माथि डाँडामा ढुंगा लिएर उभिएका थिए । उनले आफूहरूको समस्या समाधान नगरी प्रहरी लगाएर दमन गरेपछि प्रतिकारमा उत्रिएको बताए । ‘कागजी सम्झौता पटक पटक गर्ने गरिएको छ तर कार्यान्वयन पक्ष भने शून्य छ,’ उनले भने ।

उनीहरूमध्ये अधिकांशको माग फोहोरले असर गर्ने क्षेत्रका बासिन्दालाई अन्यत्र सार्नुपर्ने र सिसडोलको जस्तो अव्यवस्थित रुपमा फोहोर विसर्जन हुनु नहुने भन्ने हो । अर्को ठाउँबाट फोहोर ल्याएर आफ्नो ठाउँ दूर्गन्धित बनाइएको प्रति आक्रोशित उनीहरूले सिसडोल र बन्चरेडाँडाको समस्या एउटै माध्यमबाट हल गर्नुपर्ने बताए ।

१७ वर्षअघि सहमति भएको कुरा अहिलेसम्म कार्यान्वयन नभएको भन्दै मुख्य प्रभावित वडा धुनिबेंसी १ र ककनी २ का अध्यक्षहरू नै नगई मन्त्रालयमा गतआइतबार भएको सम्झौता आफूहरूलाई मान्य नभएको स्थानीय दिपेश ढुंगानाले बताए । फोहोर ल्याउने दिन धुनिबेंसीका मेयर र ककनीका अध्यक्षले प्रहरी ल्याएर दमन गर्न खोजेको ढुंगानाले दाबी गरे ।

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका उपसंयोजक सन्नोत उप्रेतीले सिसडोल र बन्चरेको समस्या एकै प्याकेजमार्फत् समाधान गर्नुपर्छ भनेर फागुन २७ गतेको मन्त्रिपरिषद् बैठकले फोहोरमैलाको समस्या सम्बोधन गर्नुपर्ने भन्ने निर्णय कार्यान्वयन हुनुपर्ने बताए । ‘सिसडोलको अवस्था के छ, बन्चरेलाई कसरी लैजाने भन्ने कुरा थियो । पहिला गरिएको निर्णयभन्दा फरक ढंगबाट यो निर्णय आएकाले हामीले अवरोध गरेका र्हौं । सिसडोलको हालत बन्चरेडाँडाको जस्तो हुनुभएन भन्ने हो,’ उनले भने ।

मन्त्रालयमा गरेको सहमितबारे धुनिबेंसीका मेयर र ककनीका अध्यक्ष दुवैले स्थानीयवासीलाई अहिलेसम्म जानकारी नदिएको उनको भनाइ छ ।फोहोर किन रोकिएको भन्ने कुरा बुझ्न सिसडोल र बन्चरेमा आएर हेर्न उनले सबैलाई आग्रह गरे ।

सरकारले यो-यो मितिमा यो सक्छु; अर्को मितिमा यो गर्छु भनेर स्पष्ट खाका र क्यालेन्डरसहितको प्रस्ताव गरे आफूहरू सहमतिमा आउने उनले बताए ।

स्थानीय रामप्रसाद न्यौपानले प्रहरीले दमन गर्न खोजेपछि ढुंगा बोकेर बन्चरेडाँडामा बस्न बाध्य भएको बताए । जबरजस्ती फोहोर फाल्न खोजिएपछि फोहोर बोकेका गाडीलाई ढुंगा हान्नका लागि डाँडामा जानुको विकल्प नभएको उनीहरूको भनाइ थियो ।

मंगलबार पनि स्थानीयवासीले डाँडामा बसेर फोहोर बोकेका गाडीलाई ढुंगाले हान्दै अवरोध गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रु ग्याससमेत प्रहार गरेको थियो । स्थानीयको अवरोधका कारण बन्चरेडाँडासम्म फोहोर लैजान सक्ने अवस्था नभएपछि ट्रकहरू फर्काइएका थिए । यसैबीच शहरी विकास मन्त्रालयमा शुक्रबार स्थानीयवासी र जनप्रतिनिधिहरूको बैठक बस्ने भएको छ ।