बालेनलाई सफल बनाउँछु भन्दै फिल्डमा उत्रिए संघिय सांसद मानन्धर

बालेनलाई सफल बनाउँछु भन्दै फिल्डमा उत्रिए संघिय सांसद मानन्धर

काठमाडौं ।  काठमाडौँमा फोहोर थुप्रिएर दुर्गन्धित भएको महिना दिन पुरा भएको छ । एक महिनासम्म पनि फोहोर नउठेपछि सरकारको चर्को विरोध र आलोचना भएको छ ।

काठमाडौँमा नवनिर्वाचित मेयरलाई पनि यो विषयले सकस बनाएको छ । तर प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापन गर्न आफू तयार भएको प्रतिक्रिया दिएका छन् । उनले उक्त जिम्मेवारी आफूलाई दिए छिट्टै फोहोर व्यवस्थापन गर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ तर, म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरोस्’, उनले भने ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्न सक्ने व्यक्ति आफू भएको उनको दाबी छ । भन्छन्, ‘आज एक महिना भैसकेको छ स्थानीय निर्वाचन सकिएको, वर्तमान सरकार बनेको एक वर्ष भएको छ । यो फोहोरमैला व्यवस्थापन गर्नका लागि एउटा इच्छा शक्ति भएको मान्छे चाहिन्छ, त्यो भनेको म हो भन्ने मेरो दाबा छ ।’

शहरी विकास राज्य मन्त्री रहँदा मानन्धरले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट निर्माणमा चासो दिएका थिए ।