मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

चोरी सिकारका आरोपित छुटे, कुकुर थुनामै

Himali Patrika 1 मिनेट पढाइ

मुगु  । डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको होइन । घोरल चोरी सिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको थियो ।

गत चैत १४ मा मुगुम कार्मारोङ–१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावाछोर्देन, टासी र छिमेक तामाङ समातिएका थिए । उनीहरूका साथमा उक्त कुकुर पनि थियो ।

जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरूलाई वन कार्यालयले मुद्दा चलायो । जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावाछोर्देन जेठ १२ मा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भए । टासी र छिमेक साधारण तारेखमा छुटे । वन कार्यालयले चलाएको मुद्दामा चार जना मात्र प्रतिवादी थिए ।

सिकारी कुकुरको प्रतिवादी नभएपछि अदालतले पनि त्यस विषयमा केही बोलेन । जिल्ला अदालतका सूचना अधिकारी विद्याराज बुढाले भने, ‘चोरी सिकारीको मुद्दामा कुकुर भन्ने शब्द उल्लेख गरिएको छैन, कसरी आदेश दिने ?’ अदालतले कुकुरको विषयमा केही नभनेपछि वन कार्यालयले अझैसम्म थुनेर राखेको हो ।

घट्टमा अन्न पिस्न जाँदा वनमा घोरल चर्दै गरेको देखेपछि फर्केर घरमा आई सिकारी कुकुर लिएर गई घोरल मारेको अदालती बयानमा दावाछोर्देनले बताएका छन् । उनले घोरल मारेको र घरनजिक चौतारामा बसेको गाउँलेले देखेपछि घटना प्रहरीले चाल पाएको थियो । मारेको घोरल र सिकारी कुकुरसहित ४ जनालाई तत्कालै पक्राउ गरेर प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको थियो ।

डिभिजन वन अधिकृत गगन महताराले कुकुरका विषयमा अदालतबाट कुनै आदेश नआएकाले त्यत्तिकै छाड्ने वा मार्ने भन्ने टुंगो नलागेको बताए । प्रतिवादी छुटे पनि थुनामै रहेको कुकुरको हेरविचार गर्दा भने वन कार्यालयलाई आपतै परिरहेको छ । कुकुरको खान्कीमा मात्र २५ हजार खर्च भइसकेको महतारा बताउँछन् । वन कार्यालयमा पशुपन्छीलाई दाना खुवाउने भनेर बजेट छुट्याइएको हुन्छ, जसमा कुकुरबारे उल्लेख नभए पनि त्यही बजेटबाट कुकुरको खान्की पुर्‍याइएको छ । उनले भने, ‘सिकारी कुकुर भएकाले थुनामा समेत मासुभात खुवाउँदै राख्नुपरिरहेको छ ।’

वन्यजन्तुलाई हानिनोक्सानी पुर्‍याउने भएकाले वन कर्मचारीहरू उक्त कुकुरलाई त्यसै छाड्ने पक्षमा छैनन् । महताराले भने, ‘कुकुर सिकारी हो, त्यसलाई छाड्यो भने घर फर्किन्छ । त्यसले फेरि जंगली जनावर मार्छ ।’ यस्तोमा राष्ट्रिय निकुञ्ज ऐनअनुसार आदेश लिएर सिकारी कुकुरलाई मार्ने नियम रहेको डिभिजन वन कार्यालयले जनाएको छ । तर यसबारे कार्यालयले निर्णय गर्न सकेको छैन । मुगुम कार्मारोङ गाउँपालिकाको चितैगाउँमा पर्ने वन क्षेत्रमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज छ । कान्तिपुरबाट 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।