मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

फेरिपनि नेकपा मालेको महासचिवमा सीपी मैनालीलाई नै अवसर

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । नेकपा (माले) को आठौँ महाधिवेशनले महासचिवमा फेरि सीपी मैनालीलाई चयन गरेको छ । महाधिवेशनको बन्द सत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै आज साेमवार बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो ।

कात्तिक २७ देखि आजसम्म सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी अहिले रहेको केन्द्रीय समितिको सङ्ख्या थप गरी ८१ पुर्‍याएकाे छ ।

आउँदाे पुसमा बस्ने मालेको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागीय जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको मालेका केन्द्रीय सदस्य दीननाथ घिमिरेले जानकारी दिनुभयो । महाधिवेशनमा ‘नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद र राजनैतिक प्रतिवेदन’ महासचिव मैनालीलले प्रस्तुत गर्नुभएको थियो ।

स्थायी कमिटी सदस्य एनपी आचार्यद्वारा सङ्गठनका सिद्धान्त, डम्बर श्रेष्ठद्वारा पार्टी विधान संशोधन, पार्टी प्रवक्ता कुमार बेलबासेद्वारा पार्टीको तात्कालीन कार्यनीति र दीननाथ घिमिरेद्वारा सङ्गठनात्मक प्रतिवेदन पेस भएकाे थियो । पेस गरिएका प्रतिवेदन सुझावसहित पारित गर्ने निर्णय भएको घिमिरेले जानकारी दिनुभयो ।

महाधिवेशनले अहिलेको बेलायती शैलीको संसदीय प्रणाली नेपालमा असफल भइ सकेकाले यसको खारेज गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्र प्रमुख बनाउनुपर्ने निर्णय गरेको छ । विधान संशोधन गरी सानो आकारको मन्त्रिपरिषद्को व्यवस्था हुनुपर्ने मालेले भनेको छ ।

महाधिवेशनपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै महासचिव मैनालीले मालेलाई नागरिककाे पार्टी बनाउने बताउनुभयो । अहिलेको बाटो सबै कम्युनिस्टकाे मार्क्सवादी बाटो रहेको भन्दै उहाँले गलत सोच लिएर हिँड्नेले देशका लागि काम गर्न नसक्ने बताउनुभयो । नयाँ शक्तिलाई लिएर देश र नागरिककाे आवश्यकताअनुसार, देश र जनताले मागेअनुसार परिवर्तन दिने पार्टीको रूपमा मालेलाई अघि बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।