काठमाडौँ । अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरू पछि हटेका छन् । हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएको थियो ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जहाज स्थानान्तरण र घोषित आन्दोलनका विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेपछि घोषित आन्दोलन स्थगन गरिएको बताए । ‘प्राधिकरणसँग हाम्रा ५ बुँदे मागबारे संवाद जारी नै छ,’ उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा भीड बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले तोकिएका जहाजलाई काठमाडौंबाहिरै अनिवार्य रात्रि बिसान (नाइट स्टप) गर्नुपर्ने तथा पहिलो उडान उताको विमानस्थलबाट हुनुपर्ने निर्णय गरेको थियो । देशभर उडान गर्दै आएका नौवटा वायुसेवा कम्पनीका ५२ वटा विमानमध्ये २२ वटालाई मोफसलका ७ ठाउँमा ‘नाइट स्टप’ गर्न भनिएको थियो । त्यस्तै ११ वटा हेलिकोप्टर कम्पनीका ३८ मध्ये २१ वटालाई दुर्गम तथा पहाडका चार विमानस्थलमा बस्न भनिएको थियो ।
प्राधिकरणले काठमाडौंबाहिर अपरेटिङ बेस (आधार विमानस्थल) भनेर दर्ता भएका ४३ वटा वायुयानलाई उतै बस्न निर्देशन दिइएको थियो । अन्तर्राष्ट्रिय उड्डयन संगठनको मापदण्डअनुसार काठमाडौं विमानस्थलको पार्किङमा कम्तीमा १७ देखि बढीमा २४ वटा जहाज राख्न मिल्ने जनाउँदै प्राधिकरणले पछिल्ला वर्ष जहाज थप्ने कम्पनीलाई काठमाडौंबाहिर आधार विमानस्थल बनाएर उडाउने सर्तमा मात्र अनुमति दिएको बताएको छ । ‘धनगढी, नेपालगन्ज, सुर्खेत, भैरहवा, पोखरा, लुक्ला, जनकपुर, विराटनगर, चन्द्रगढीमा रात्रि बिसान गर्ने सर्तमा मात्र अनुमति दिइएको छ, उनीहरूलाई पूर्वसर्त लागू गर्न मात्र भनिएको हो, यो नयाँ नियम होइन,’ एक अधिकारी भन्छन् ।
प्राधिकरणले काठमाडौं विमानस्थलमा पार्किङमा राखिएका जहाज बिहान निकाल्दा दुई पटक ठोक्किएको र दुर्घटनाको सम्भावना पनि बढेको भन्दै काठमाडौंको क्षमताभन्दा बढी जहाजलाई उपत्यकाबाहिर स्थानान्तरण गर्न गत वैशाखमा कार्यदल गठन गरेको थियो । कार्यदलले दिएको सुझावका आधारमा आइतबार प्राधिकरणले तोकिएका विमानलाई तोकिएकै विमानस्थलमा रात बस्ने गरी व्यवस्था मिलाउन परिपत्र गरेको थियो ।



