मादी हत्या काण्डमा संलग्न ४ जनालाई आजीवन कारावास

मादी हत्या काण्डमा संलग्न ४ जनालाई आजीवन कारावास

संखुवासभा । मादी हत्या काण्डमा संलग्न ४ जनालाई जिल्ला अदालत संखुवासभाले आजीवन कारावासको फैसला सुनाएको छ । मादी नगरपालिका-१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा ५ जनामध्ये ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको हो । हत्यामा संलग्न १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाई कारावासको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सोमबार ५ जनालाई कसुरदार ठहर गर्दै उक्त फैसला गरेको अदालतका स्रेस्तेदार केदारप्रसाद गौतमले बताए । साथै मृतक परिवारको राहत कोषमा ४ जनाले दुई/दुई लाख रुपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने आदेश भएको उनले बताए । घटनाको सफल अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले पनि ४ जनाविरुद्ध आजीवन कारवास सजाय मागदाबी गरेको थियो ।

हत्यामा अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । उनीहरू सबै मृतक तेजबहादुर परिवारकै आफन्तहरू हुन् । २०७८ भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपीन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

Europass CV in Nepal