काठमाडौँ । बजेट निर्माणमा बिचौलिया प्रयोग गरेपछि विवादित बनेका अर्थमन्त्री जनार्दन शर्माको बारेमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ । शर्माले राज्यको गोपनीयता भंग गरेकोले उनले राजीनामा नदिए बर्खास्त गरेर उनीमाथि थप कारबाही गर्नुपर्ने सर्वत्र माग छ । सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादी केन्द्रभित्र समेत शर्माको भूमिकालाई लिएर व्यापक प्रश्न उठेको छ ।
माओवादी केन्द्रको नेताहरुको खुमलटारमा मंगलबार बिहान बसेको बैठकमा समेत शर्माको विषयमा कुरा उठेपछि अध्यक्ष पुष्पकमल दाहालले शीर्ष नेताबीच नै छलफल हुने जानकारी दिएका हुन् ।
माओवादीका एक नेताका अनुसार सम्भवत: मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटार बैठक बस्नेछ । ‘आज प्रधानमन्त्रीसँग अध्यक्षले साँझ भेट्ने कुरा भएको छ । त्याे भेटमा अर्थमन्त्रीबारे पनि छलफल हुनसक्छ’ ती नेताले भने ।
मन्त्री शर्मालाई हटाउनका लागि नागरिक समाजका अगुवाहरुले पनि आग्रह गरिसकेका छन् । उनका गतिविधिमाथि प्रश्न उठाउँदै सडक प्रदर्शन समेत भइरहेका छन् । तर मन्त्री शर्मा र उनको दल माओवादी केन्द्र सकेसम्म यो घटनाको बचाउ गरिरहेका छन् । मंगलबार अर्थमन्त्री शर्मा भने मन्त्रालयमै काममा व्यस्त रहेको मन्त्रीनिकट स्रोतले जनाएको छ ।