के हो नाइरोबी फ्लाई ? कसरी संक्रमण गराउन सक्छ?

के हो नाइरोबी फ्लाई ? कसरी संक्रमण गराउन सक्छ?

काठमाडौँ । धनगढीका ओम साउदलाई ३ दिनअघि दाहिने हातमा जनै खटिरजस्तो लक्षण देखियो । माकुराले छेरेको भन्ठानेर आफैँ निको हुन्छ भनेर उनले त्यति ध्यान दिएनन् तर पछि निकै पोल्ने र दुख्ने भएपछि उनले घरमै घरेलु उपचारका लागि घ्युकुमारी लगाए । अहिले घाउ सुक्दै गएको छ ।

त्यस्तै झापाका सौरभ भट्टराईलाई एक दिन हात‚ गाला, ढाडमा रातो डाबरजस्तो देखियो । धेरै चिलाएपछि कन्याउँदा एलर्जी अरु ठाउँमा फैलियो । उनले अघिल्लो दिन झुल नलगाई सुतेका कारण किराले टोकेको हुन सक्ने बताए । अहिले उनको हातमा भने घाउ सुक्दै गएको छ ।‘मैले केही उपचार गराएको छैन । अहिले समाजिक सञ्जालमा फोटो हेर्दा नाइरोबी फ्लाई रहेछ भन्ने थाहा भयो । हाम्रो घर छेउको फार्मेसीमा बुझ्दा दैनिक १५ जनासम्म यस्तो समस्या लिएर आइरहेका छन्,’ उनले भने।

काठमाडौँका ४५ वर्षीय एक पुरुष एक हप्ताअघि निजामती कर्मचारी अस्पतालमा पानी फोका र रातो धर्का भएको एलर्जी लिएर आएपछि चिकित्सकले उनलाई नाइरोबी फ्लाई भएको पुष्टि गरेका थिए ।

Europass CV in Nepal

के हो नाइरोबी फ्लाई ? कसरी संक्रमण गराउन सक्छ?

अस्पतालका छालारोग विशेषज्ञ डा‍‍‍. प्रज्वल पुडासैनीका अनुसार नाइरोबी फ्लाई भनेको बिटल्स प्रजातीको किटाणु(किरा) हो । विश्वभर बिटल्सका ३ लाख ५० हजारभन्दा बढी प्रजाति छन्‚ तीमध्येको यो एक हो । कालो र सुन्तले रंगको देखिने यो किरालाई ‘केन्यन फ्लाइज’ वा ‘ड्र्यागन बग’ पनि भनिन्छ । यसलाई ‘पेडेरस डर्माटाइटिस’ पनि भनिन्छ ।

यो किराले गराउने एलर्जी हरेक वर्षाको समयमा देखिने गरेको चिकित्सकहरू बताउँछन् । डा‌‍. पुडासैनी भन्छन्‚ ‘यो किराले टोक्दैन । यदि यो किरा केही गरी माडियो भने यसबाट निस्किने टक्सिनले विभिन्न लक्षणहरू देखाउन थाल्छ । लक्षणहरू १२ घण्टादेखि २ दिनसम्म आइसक्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जान्छ । तर‚ धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ ।कन्याउँदा दाग र खत बस्न सक्छ ।’

किराको टोकाइले नभएर किरा माड्दा त्यसले उत्पादन गर्ने ‘पेड्रिन’ भन्ने टक्सिनले लक्षणहरू देखिने हुन्छ । सामाजिक सञ्जालमा अहिले यो किराको बारेमा विभिन्न पोस्ट भाइरल भइरहेको छ । साथै सिक्किमलगायत पूर्वी नेपाल तथा भारतसँग सीमा जोडिएका जिल्लाहरुमा यो देखिएको छ । धनगढीको माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले दुई जना नाइरोबी फ्लाईको लक्षण लिएको बिरामी सम्पर्कमा आएको बताए ।‘त्यस्तै खालका लक्षणहरु उनीहरूमा पनि पाइयो तर जटिल पाइएन,’उनले भने ।

चिकित्सकहरुका अनुसार धेरै बिरामीहरू यसलाई जनै खटिरा, मंकीपक्सको लक्षण हो भनेर झुक्किने गरेका छन् । त्यसैले फार्मेसीभन्दा विशेषज्ञ चिकित्सकको मै जानुपर्ने हुन्छ । ‘हरेक वर्षात्‌को मौसममा देखिन्छ । यो एलर्जी हो । धेरै आत्तिनुपर्ने आवश्यकता छैन । कुनै यसले कुनै जटिल प्रकारका जोखिमहरू ल्याउँदैन,’ डा. पुडासैनीले भने ।

कस्ता हुन सक्छन् लक्षण?

  • – जनै खटिराजस्तो फोका आउने ।
  • – ठूलो खालको पानी फोका आउने ।
  • – पीप फोका आउने ।
  • – छाला रातो हुने ।
  • – पोल्ने।
  • – रातो दाबर तथा बिमिरा आउने ।
  • – रातो धर्सेखालको एलर्जी हुने ।

चिकित्सकहरूका अनुसार यो दुईवटा छाला जोडिएको भाग जस्तो कुहिना तथा घुँडामा आफ्नै शरीरबाट सरेर फोकाहरु निक्लन सक्दछ साथै कहिलेकाहीँ यौनांगको वरिपरी पनि आउन सक्छ । नाइरोबी फ्लाईले गराउने लक्षण कपालमा लगाउने कलरको कमेकिल, घामको विकीरण, जनै खटिरा, पोलेको घाउले हुने अवस्था पनि उस्तै हुन सक्ने हुन्छ । डा. पुडासैनी भन्छन्, ‘छालारोग विशेषज्ञहरुले यो हेर्नेबित्तिकै थाहा पाउन सक्छन् तर कहिलकाहीँ अरु रोगसँग पनि छुट्याउनका लागि बायोप्सी गर्नुपर्ने हुन सक्छ ।’

कसरी सावधानी अपनाउने ?

छालारोग विशेषज्ञ डा. पुडासैनीले यो किरा देखिनेबित्तिकै किरालाई हातले नछोई पत्रिका वा अरु चिजले किरालाई हटाई छोइएको ठाउँमा साबुन पानीले सफासँग पखाल्नुपर्ने बताउँछन् । भन्छन्,‘ किरा माड्नुभएन । देख्नेबित्तिकै फाल्ने; बेटाडिन हालेर किरा बसेको ठाउँमा सफा गर्न सकिन्छ ।’ किराले संक्रमण गराइसकेमा नआत्तिने र यदि बढी नै चिलाए वा पोलेमा चिकित्सकको सल्लाह लिनुपर्ने उनले बताए ।

  • – फूल बाहुले लुगा लगाउने ।
  • – झूल लगाएर सुत्ने ।
  • – सेतो बत्तीले किरालाई आकर्षित गर्ने हुनाले बत्ती निभाएर मात्र सुत्ने ।
  • – फोहोरमैला हुन नदिने ।
  • – पोलेमा चिसो आइसले सेक्ने ।
  • – धेरै नै दु:ख दिएमा नजिकको स्वास्थ्यसंस्थासँग सम्पर्क गर्ने आदि ।
Europass CV in Nepal