परिवारवादले संकटमा श्रीलंका, निवास छाडेर भाग्नुपर्यो राष्ट्रपति

परिवारवादले संकटमा श्रीलंका, निवास छाडेर भाग्नुपर्यो राष्ट्रपति

काठमाडौँ । आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा सत्ताविरुद्ध प्रदर्शन चर्को बन्दै गएपछि राष्ट्रपति गोटाबाया राजपाक्ष र प्रधानमन्त्री रणिल विक्रमासिंघे राजीनामा दिन तयार भएका छन् । हजारौं प्रदर्शनकारी राष्ट्रपति निवास प्रवेश गरेपछि भागेका राष्ट्रपति गोटाबाया राजपाक्षले जुलाई १३ मा राजीनामा दिने जानकारी सभामुख महिन्दा यापा अबेयवार्दनालाई गराएका छन् ।

प्रधानमन्त्री विक्रमासिंघेले पनि ट्वीट गर्दै सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न राजीनामा दिन लागेको जनाएका छन् । प्रदर्शनकारी शनिबार प्रधानमन्त्री विक्रमासिंघेको निजी निवासमा समेत प्रवेश गरेका थिए ।

आर्थिक संकट गहिरिँदै जाँदा देशभरबाट राजधानी कोलम्बोमा भेला भएका हजारौं प्रदर्शनकारी राष्ट्रपति राजपाक्षको सरकारी र प्रधानमन्त्री विक्रमासिंघेको निजी निवासमा प्रवेश गरेका हुन् । सरकारको गलत नीतिका कारण संकट देखिएको भन्दै उनीहरूले राष्ट्रपति राजपाक्ष र प्रधानमन्त्री विक्रमासिंघेको राजीनामा मागिरहेका छन् । उनीहरूले राष्ट्रपति राजपाक्षले राजीनामा नदिउन्जेलसम्म उनको भवन नछाड्ने बताएका छन् । प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा आगजनी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Europass CV in Nepal

प्रदर्शनकारीले शनिबार अपराह्न राष्ट्रपति निवासमा प्रवेश गरेर स्विमिङ पुलमा पौडिँदै गरेको र शयनकक्षमा प्रवेश गरेर सेल्फी खिचेको भिडियो सामाजिक सञ्जालमा आएका छन् । सरकारी निवासबाट भागेका राष्ट्रपति राजपाक्षलाई राखिएको स्थान खुलाइएको छैन । तर देशबाट कुनै पनि समयमा भाग्नुपर्ने अवस्थामा रहेका कारण उनी विमानस्थलमा रहेको बताइएको छ । अर्कातर्फ कोलम्बो बन्दरगाहमा देखिएका दुईवटा पानीजहाजमा राष्ट्रपतिले सामान लोड गर्दै गरेको देखिएको समाचार पनि आएका छन् । प्रदर्शनकारी राष्ट्रपति निवास बाहिर भेला हुन थालेपछि राजपाक्षलाई सुरक्षित रूपमा बाहिर निकालेर सेनाको एउटा युनिटले सुरक्षा दिइरहेको उच्च सुरक्षा अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएका छन् ।

प्रहरीले शनिबार प्रदर्शनकारीलाई नियन्त्रणमा लिन बल प्रयोग गरेका समाचार आएका छन् । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । श्रीलंकाको राजधानीमा घोषित विरोध प्रदर्शनअघि ठूलो संख्यामा सशस्त्र सैनिक र प्रहरी तैनाथ गरिएको थियो । अधिकारीहरूले शुक्रबार राति कर्फ्युको घोषणा गरेर प्रदर्शनलाई रोक्ने कोसिससमेत भएको थियो । विपक्षी दलहरूको चर्को विरोध भएपछि त्यसलाई पछि हटाइएको थियो ।

बार एसोसिएसनले पनि प्रहरी प्रमुखमाथि मुद्दा चलाउने चेतावनी दिएको थियो । घरमै बस्नका लागि दिइएको चेतावनीलाई बेवास्ता गर्दै प्रदर्शनकारीहरू शनिबार राष्ट्रपतिको सरकारी निवास नजिकै जम्मा हुन थालेका थिए । समाचार एजेन्सी एएफपीले केही प्रदर्शनकारीले रेलवेका कर्मचारीलाई कोलम्बो जाने रेल बनाउन बाध्य पारेका थिए ।

संकटका बेला श्रीलंकाका विभिन्न राजनीतिक दलबीच भएको बैठकमा बहुसंख्यक दल राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने पक्षमा देखिएका छन् । विपक्षी दलका एक सांसदका अनुसार बहुसंख्यक दलहरूबीच सभामुखले राष्ट्रपतिको भूमिका निर्वाह गर्नेमा सहमति भएको छ । संविधानअनुसार बढीमा ३० दिन सभामुखलाई राष्ट्रपति बनाउन मिल्छ । दलहरूले सर्वदलीय सरकार गठन गरेर जतिसक्दो चाँडो चुनावमा जाने विषयमा सहमति गरेका छन् । बाँकी कार्यकाल अर्थात् नोभेम्बर २४ सम्म सांसदहरूको गोप्य मतदान गरेर राष्ट्रपति छान्ने विषयमा पनि सहमति जुटेको छ ।

प्रधानमन्त्री विक्रमासिंघेले पहिले निकट नेताहरूलाई राजीनामा गर्न तयार रहेको जानकारी गराएर पछि ट्वीट गरेका थिए । उनले जनताको सुरक्षाका लागि आफूले पद छाड्न तयार भएको बताएका छन् । प्रदर्शन बढ्दै गएपछि प्रधानमन्त्री विक्रमासिंघेसामु राजीनामाबाहेक विकल्प नरहेको बताइएको छ । गत महिनाको प्रदर्शनपछि विक्रमासिंघेलाई प्रधानमन्त्री बनाइएको थियो । राष्ट्रपति गोटाबायाका दाइ महिन्दाले पदबाट राजीनामा दिएपछि विक्रमासिंघे प्रधानमन्त्री बनेका हुन् ।

२ करोड २० लाख जनसंख्या रहेको हिन्द महासागरस्थित टापु राष्ट्र श्रीलंका आर्थिक रूपमा टाट पल्टिएको छ । श्रीलंकाले इन्धन, औषधि, खाद्यान्न जस्ता आधारभूत वस्तु आयात गर्नसमेत सकेको छैन । १९४८ मा बेलायतबाट स्वतन्त्र भएको श्रीलंका इतिहासमै सबैभन्दा ठूलो आर्थिक संकटमा परेको छ । श्रीलंका सरकारले सामान्य मानिसलाई आइतबारसम्म इन्धन बिक्री गर्न रोक लगाएको छ । सत्तरीको दशकपछि यस्तो कदम चाल्ने श्रीलंका पहिलो देश भएको बताइएको छ ।

गत सप्ताहान्तमा अधिकारीहरूले बस, रेल तथा स्वास्थ्य वहानका लागि आवश्यक पर्ने इन्धन एक साताका लागि पनि नपुग्ने बताएका थिए । विद्यालय बन्द गरिएका छन् । खाद्यान्न र इन्धन अभावको कारण मूल्यवृद्धि भएको छ । मुद्रास्फीति ३० प्रतिशत रहेको छ । औषधिको अभावका कारण स्वास्थ्य प्रणाली पतन हुने अवस्थामा पुगेको छ ।

श्रीलंका रातारात टाट पल्टिएको भने होइन । दशकौं लामो अव्यवस्था, आर्थिक अपारदर्शिता र भ्रष्टाचारका कारण सुरु भएको संकटले यो अवस्था निम्त्याएको हो । राजनीतिक नेतृत्वले पनि लामो समयअघि सुरु भएको यो संकट समाधान गर्नेभन्दा बढाउँदै लैजाने काम गरे । श्रीलंकामा मुख्यतः ठूलो बजेट घाटा र चालु खाता घाटा लामो समयदेखि चल्दै आएको थियो । ‘श्रीलंका दोहोरो घाटा बेहोरिरहेको अर्थतन्त्र हो,’ २०१९ मा प्रकाशित एसियाली विकास बैंकको कार्यपत्रमा भनिएको छ, ‘दोहोरो घाटाले देशको राष्ट्रिय खर्च राष्ट्रिय आम्दानीभन्दा बढी छ भन्ने संकेत गर्छ । साथै देशले उत्पादन गर्ने वस्तु र सेवा व्यापारका लागि अपर्याप्त छ भन्ने देखिन्छ ।’

अहिलेको आर्थिक संकट भने राजपाक्षले २०१९ मा भएको चुनावी प्रचारका क्रममा वाचा गरेको ठूलो मात्रामा कर कटौतीका कारण सिर्जना भएको हो । सत्तासीन भएलगत्तै राजपाक्षले कर कटौती त गरे तर त्यसको केही समयमा नै कोभिड–१९ महामारीले विश्वलाई प्रहार गर्‍यो, जसका कारण श्रीलंकाको अर्थतन्त्र पूर्ण रूपमा धराशायी हुन पुग्यो । त्यसअघि इस्टरको समयमा इस्लामिक अतिवादीहरूले पर्यटकीय स्थलहरूलाई लक्ष्य गर्दै गरेको बम आक्रमणपछि श्रीलंकाको पर्यटन उद्योगमा संकट सुरु भइसकेको थियो ।

महामारीले एकातर्फ देशको मेरुदण्डका रूपमा रहेको पर्यटन व्यवसाय पूर्ण रूपमा बन्द भयो भने अर्कातर्फ देशमा भित्रिने रेमिट्यान्समा पनि कमी आयो । साथै, क्रेडिट रेटिङ एजेन्सीहरूले श्रीलंकालाई ‘डाउनग्रेड’ गरिदिए र अन्तर्राष्ट्रिय सेयर बजारमा लगानी गर्न पनि बन्देज लगाइदिए, जसका कारण देशको विदेशी मुद्राको सञ्चिति दुई वर्षमै ७० प्रतिशतले खस्कियो । २०२१ मा राजपाक्ष सरकारले रातारात रासायनिक मलको प्रयोग पूर्ण रूपमा बन्देज लगायो, जुन केही समयपछि नै फिर्ता लिइएको थियो । तर उक्त निर्णयले त्यहाँको चिया र धान खेतीलाई नराम्रोसँग प्रभावित बनायो । त्यसमा पनि गत फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गरेपछि विश्वभर नै इन्धनको मूल्यमा भारी वृद्धि भयो । यसै पनि विदेशी मुद्रा कम भएका कारण अर्थतन्त्र डगमगाएको श्रीलंकाको आर्थिक घाउमा त्यसले नुनचुकको काम गर्‍यो ।

राजपाक्षले २०१९ मा चुनाव जितेर राष्ट्रपति भएसँगै त्यहाँको सत्ता पूर्ण रूपमा राजपाक्षको परिवारको हातमा मात्रै सीमित भयो । गोटाबाय राजपाक्ष परिवारको तेस्रो राजनीतिक पिढी‌ हुन् भने चौथो राजनीतिक पिढी पनि गत मार्चसम्म मन्त्री थिए । दाजु महिन्दा गत महिनासम्म प्रधानमन्त्री थिए । उनी २००५–२०१५ सम्म राष्ट्रपति पनि थिए । अन्य दुई बसिल र चमल पनि २०१९ यता मन्त्री थिए । महिन्दाका छोरा नमल केही महिनाअघि मन्त्री थिए । आर्थिक संकट चुलिएपछि र आलोचना सुरु भएपछि मन्त्री रहेका उनीहरू सबैले राजीनामा गरेका छन् ।

कुनै समयमा श्रीलंकाको कुल बजेटको २४ प्रतिशत राजपाक्ष परिवारकै नियन्त्रणमा थियो । राजपाक्षका ९ जना सदस्य मन्त्री थिए भने सरकारका मुख्य ३० वटा पदमध्ये ७ वटा पद पनि उनीहरूकै परिवारकै अधीनमा थियो । देशमा संकट सुरु भए पनि राजपक्ष परिवारले श्रीलंकामा निकै सुविधाजनक जीवन बिताइरहेका छन् । सामाजिक सञ्जालमा उनीहरूको परिवार बस्ने आलिसान घर, अत्याधुनिक गाडी र महँगो बिदा भ्रमणलाई लिएर आलोचना हुने गरेको थियो । यसले पनि अहिलेको राजनीतिक तथा आर्थिक संकटमा आलोचना र प्रदर्शन उनीहरूकै परिवारमाथि केन्द्रित भइरहेको छ ।

राजपाक्ष परिवार र त्यसमा पनि महिन्दाको भूमिकाको आलोचनाकै फलस्वरूप उनले २०१५ को राष्ट्रपतीय चुनावमा हार बेहोरेका थिए । तर उनको परिवारविरुद्ध भएको राजनीतिक एकता धेरै समय टिक्न सकेन र यही परिवार २०१९ को चुनावमा पुनः शक्तिमा आयो । राजपाक्ष परिवारले तमिल विद्रोहलाई दबाउनका लागि खेलेको भूमिकालाई लिएर पनि उनीहरूको आलोचना हुने गरेको छ । तमिल समुदाय राजपाक्षलाई युद्ध अपराधको मुद्दामा कारबाही होस् भन्ने चाहन्छ । तर, परिवारवादको आडमा निरंकुश बनेका उनले युद्ध अपराधमा मुछिएका आफन्तलाई आममाफी दिएका छन् ।