नेपाल आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख

नेपाल आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल आइपुगेका छन् । गत जुनमा विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उनी छ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् । अहिले उनी बत्तीसपुतली स्थित होटल द्वारिकामा बसेका छन् ।

भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्नेछन् ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गरेपछि चीनबाट दोस्रो उच्च तहको भ्रमण भएको हो । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए ।